‘सुस्माको छुच्चोपन देखेर नै विवाह गरेको हुँ’

46

तीनपटक बेहुला बेहुली बनियो
सम्बन्ध जोडिनु र त्यसलाई पूर्णतया निभाउनु फरक कुरा हुन् । कतिको सम्बन्ध जोडिन्छ यात्रा सह हुन्छ तर सम्बन्धमा मीठास भने कम हुन्छ । दिपक र सुस्माको भने मीठासपूर्ण छ सहयात्रा ।
नेपाली कला क्षेत्रका दिपक आचार्य र सुस्मा गुरागार्इंले आजभन्दा एक दशकअघि आफ्नो जीवन सयर गराउन एकअर्कालाई चुनेका थिए । आज पनि दिपक र सुस्मालाई भर्खरै विवाह भए जस्तो लाग्छ, उस्तै प्रेम, उस्तै सम्मान तथा थप जिम्मेवारी । बदलिँदो समाजको विवाह प्रणालीभन्दा पनि पुरानै प्रणाली अपनाएर मागी विवाह गरेको यो जोडी आजसम्म आइपुग्दा दुःखका भन्ज्याङ् तथा सुखका खुट्किलोमा सँगसँगै यात्रा गरेर आएको हो । समाजमा प्रेम विवाह बढ्दै गएको बेलामा मागी विवाह गर्छु भनेर धेरै जुत्ता चप्पल फटाएका दिपकलाई सुस्मा नै मनप¥यो । गाउँमा अर्कै केटी हेर्न भनेर गएका उनलाई केटी माग्न सहयोग गर्ने सहयोगीले आफन्त सुस्माको घरमा लगे । रातको समयमा गएका उनलाई सुस्माले चियासम्म पनि सोधिनन् । तर सुस्माले आफूलाई चिया बनाउन नै नआउने भएर होइन, रातको समय पकाउन अल्छीका कारण धेरै बोले चिया बनाउनुपर्छ भन्ने सोचेरै नपकाएकी थिइन् । काठमाडौंमा कलाकारिता क्षेत्रमा स्थापित हँुदै गरेका दिपकलाई सुस्माको त्यो छुच्चोपना नै मनमा बस्यो । यति छुच्ची मान्छेले कसो पैसा नजोगाउँलिन् र भन्ने उनलाई लाग्यो ।

धेरै केटी हेरेर पनि आफूले सोचेजस्तो केटीको खोजीमा रहेका दिपकलाई उनै छुच्ची सुस्मा चाहिँ साँच्चै जीवनमा आए हुन्थ्यो भन्ने बिचार मनमा आएको थियो । दिपक विवाहका सिलसिलामा गएको भए पनि सुस्माले भने विवाहको विषयमा केही विचार गरेकी थिइनन् । केटी हेर्नमा नै धेरै जुत्ता चप्पल फटाएका दिपकलाई धेरै केटीहरु मन परेको थिएन तर सुस्माको छुच्चोपनाका कारण उनले आफुले दुःख गरेर कमाएको पैसालाई जोगाइदिन सक्ने जस्तो लाग्यो र उनीसँगै विवाह गर्न सहमत भए । शुरुमा त खासै बोलचाल भएन तर इन्गेजमेन्ट पछि भ्यालेन्टाइन डे भएकोले विवाह पूर्व नै डेटिङ जाने अवसर मिल्यो जसले गर्दा एकले अर्काको धेरै कुरा बुझ्ने मौका पाएका थिए । घर परिवारलाई जानकारी नदिइ गएको भ्यालेन्टाइन डेमा कसैले देखेर घरमा कुरा लगाइदिने पो होकी भन्ने पिर लागेको थियो सुस्मालाई तर कसैले नदेखे पछि उनी ढुकक भइन् । मिडियामा काम गर्ने भन्नेवित्तिकै मान्छेको सोच नराम्रो हुने भए पनि सुस्मा आफुलाई पनि मिडियामा झुकाव भएकोले सँगै सहयात्रा गर्दा अप्ठयारो नपर्ने सोच आयो । सुरुमा दिपक हेर्दा हेण्डसम लागेको थियो र अहिले पनि उतिकै हेण्डसम लाग्छ सुस्मालाई । परिवारिक वातावरण पनि दुबैको मिल्ने भएकोले सहयात्रा सफल हुन सकेको उनी बताउँछिन् ।

विवाहको दिनलाई स्मरण गर्दै दिपक भन्छन् ‘मलाई त्यो दिन सुटिङ्मा कुनै हिरोले विवाह गरेको र आफन्त चाहिँ दर्शक हुन् भनेजस्तो फिल भएको थियो, हामी तीनपटक बेहुला बेहुली बनेका छौं । नेपाल बन्दका कारण इन्गेजमेन्टमा पनि बेहुला बेहुली जस्तो बनेर नाटक गरेका थियौं,’ विवाहमा विवाह नै भइहाल्यो, दुल्हन फर्काउन जाँदा पनि दुलाहा दुलही नै भएका थियौं । बन्द बन्दको वीचमा जोडिएको सम्बन्धले हाम्रो मनलाई पनि एकअर्काभित्र बन्द गरेर राखेको छ ।

पर्दाअघिभन्दा पर्दापछि हिरोका रुपमा परिचित दिपक एक दशकमा दुई सन्तानका अभिभावक समेत बनिसकेका छन् । कोमल मनकी सुस्माको कहिले काहीँ कति कुरा नभनेरै बस्ने र कहिले सानो सानो कुरामा पनि रुने स्वभाव छ । दिपकको नजरमा सुस्मा निकै सहनशिल नारी हुन् भने सुस्माको नजरमा दिपक एक स्ट्रङ र जिम्मेवार पुरुष । छिटो प्रतिक्रिया दिने, अव्यवस्थित बानी दिपकको सुस्मालाई मन पर्दैन भने मन धेरै कोमल बन्ने र प्लानिङ् नगर्ने सुस्माको वानी पनि दिपकलाई त्यति ठीक लाग्दैन । त्यसैले घरमा सानो सानो कुरामा पनि झगडा पर्ने गरेको छ । दिपक भन्छन् ‘मलाई सानो कुरामा वेवास्ता गरेको मनपर्दैन, ह्या होस्, एक जनाले मात्र सबै कुराको पालना गरेर हुँदैन, सबैले पालना गर्नुपर्छ भन्ने सुस्माको बानी मलाई मनपर्दैन ।’ प्रायः हामीहरुबीच यस्तै कुरामा झगडा पर्ने गर्छ । दिपक थप्छन् ‘हामी सानो विषयमा पनि डिसकस गर्छौ र छिटै समाधान पनि निकालिहाल्छौंं, सुस्मा अलि इमोस्नल छिन्, सानो कुरामा पनि मन पग्लिहाल्छ उनको ।’ दिपक र सुस्माको खानेकुरामा त विशेष झगडा पर्छ । शाकाहारी सुस्मा र मांशाहारी दिपकबीच परिवारलाई समय नदिएका कारण पनि प्रायः झगडा पर्ने गरेको छ ।

दिपक वास्तविक नामले भन्दा काकुको नामले दर्शकमाझ परिचित भएको सुस्मालाई मनपर्छ । दिपकको पाइलैपिच्छे साथ दिँदै आएकी सुस्माले दिपकको कामको प्रंशसा कहिले पनि उनको अगाडि गर्ने गरेकी छैनन् । विवाह गरेको १० वर्ष भए पनि खासमा राम्रोसँग प्रेममा परेको धेरै नभएको उनीहरु बताउँछन् । दुई वर्षअघिसम्ममात्र श्रीमान् काठमाडौं र श्रीमती झापा बस्दै आएका थियौ । वर्षमा एक दुइपटकमात्र भेट हुँदा एकले अर्कालाई राम्रो सँग बुझ्ने अवसर मिलेको थिएन । अहिले सँगै बस्न थालेपछि एकले अर्काको कुरा बुझ्न र महशुस गर्न पाएका छौ भन्छिन् सुस्मा । दुइजना टाढा टाढा बस्दा भन्दा सँगै बसेपछि माया झनै बढ्दो रहेछ भन्ने महशुश भएको छ उनलाई ।