संघर्षले जीवन सफल हुन्छ

45

समयको चक्रसँगै मानिसको जीवनमा धेरै आरोह अवरोहरू आउँछन् । ती आरोह र अवरोहलाई छिचोल्दै सुख र दुखको अनुभूति गरिन्छ । त्यहि अनुभूति कालान्तरमा जीवन भोगाइ बन्छ । यस्तै ब्युटिसियन शारदा श्रेष्ठले पनि जीवनमा धेरै उतारचढाब भोग्नु भएको छ । उहाँले भोगेको अनुभव मंसिर महिनाको ‘जीवन भोगाई’ मा हामीले समेट्ने कोसिस गरेका छौँ ।

ललितपुरको प्रसिद्ध धार्मिक स्थल बंगलामुखीको पावन क्षेत्रमा आमा सूर्य देवी मुल्मी तथा बुबा यज्ञ लाल मुल्मीको कान्छी सन्तानको रुपमा शारदा श्रेष्ठको जन्म भएको हो । परिवारको कान्छी छोरीको रुपमा जन्म भएको कारण उहाँले बाल्यकालमा अन्य सहपाठीहरूले झैँ कुनैपनि दुखका दिनहरू बिताउन परेन । तर उहाँ भविष्य प्रति भने सानैदेखि चिन्तित देखिनु हुन्थ्यो ।

बाल्यकालमा उहाँको स्वभाव अलि चञ्चले र जिद्धी थियो । उहाँ यतिसम्म जिद्धी हुनुहुन्थ्यो कि, आमा भनेर रुनु भयो भने आमा नै उहाँलाई फकाउन जानुपर्दथ्यो र बाबा भनेर रुनु भयो भने बाबा नै फकाउन जानु पर्दथ्यो । तर व्यवहार भने निकै व्यवहारिक थियो । आमासँगै बिहान उठेर मन्दिर जानुहुन्थ्यो । आमाले गर्ने हरेक काममा सहयोग गर्नु हुन्थ्यो ।
धार्मिक परिवारमा जन्मिएकोले उहाँलाई आफ्नो संस्कृति कला सभ्यताको बारेमा धेरै जानकारी थियो । उहाँ बाल्यकाल सम्झना गर्दै बली प्रथाको बारेमा भन्नु हुन्छ–‘दशैंको कालरात्रीमा आफ्नो कुलघराना अनुसार बली प्रथामा कुखुराको भालेलाई बली दिने चलन थियो । त्यही क्रममा रोई कराई गरी बली नदिने भन्दा आमाको धेरै गाली खानु भएको यादहरू आएको कुरा अहिले उहाँ सम्झनु हुन्छ । ’

उहाँले आफ्नो प्राथामिक र एसएलसीसम्मको पढाई श्री शान्ती माध्यामिक विद्यालयबाट पुरा गर्नु भएको हो । त्यसपछि उहाँले पाटन बहुमुखी क्याम्पसमा स्नातकसम्मको अध्ययन गर्नु भयो । अध्ययनको क्रममा २०४६–५ २५ गते उहाँले श्रम तथा सामाजिक कल्याण मन्त्रालयबाट व्युटिसियन सम्बन्धी ५ महिने कोर्ष पुरा गरी बागबजार पुतली सडक स्थित भेनस व्युटिपार्लरबाट पनि व्यवसायिक रुपमा थप तालिम लिनु भएको थियो । त्यही तालिमको क्रममा बैंककमा समेत गएर १५ दिन व्युटिसियन सम्बन्धी तालिम लिनु भएको थियो ।

अरुको जागिर खानु भन्दा आफैँले नै केही गर्नुपर्छ भन्ने सोचेर उहाँले ‘स्वागतम व्युटिपार्लर एण्ड ट्रेनिङ सेन्टर ’ खोलेर व्यवसाय सुरु गर्नु भएको थियो । हाल उहाँ सौन्दर्यकला व्यवसायि संघ ललितपुरको अध्यक्ष पदमा कार्यरत हुनुहुन्छ । यहि सिलसिलामा उहाँले पोखरा, बागलुङ, मोरङ, बिराटनगर र पर्वत लगायत विभिन्न विकट क्षेत्रमा गई पार्लरहरूको अबलोकन गरेर त्यहाँको अवस्था र विकासको बारेमा जानकारी लिनु भयो । त्यसका साथै ती महिला दिदी बहिनीहरूको पेशागत अधिकार तथा स्वाबलम्बी प्रति आवाज उठाउनु भएको थियो । आफ्नो व्यवसायप्रति आफू मात्र सर्मप्रित नभई सम्पूर्ण व्यवसायिक महिलाहरूको वर्तमान अवस्था र भविष्य कसरी उज्वल बनाउने भन्ने विषयमा सदैव तत्पर रहनु भयो र रहदै आउनु भएको छ । पार्लरलाई उहाँले स्थापना कालदेखि नै व्यवसायिक रुपमा लिनु भएको थियो । त्यही कारण उहाँको पार्लरमा सिप सिकेर केही गर्न चाहने महिला दिदी बहिनीहरूलाई तालिम दिदै आउनु भएको थियो । उहाँलाई विश्वास छ, व्युटिसियन पेशामा लागेका महिलाहरूले कहिलै पनि भोकै बस्नु पर्दैन । विश्वका कुनै पनि कुनामा पुगेर आफ्नो सिपको सदुपयोग गरी जीवन चलाउन सक्छन् ।

पहिले व्युटिसियन पेशालाई मानिसहरूले तल्लो स्तरको कामको रुपमा लिन्थे । यो पेशामा लागेर के गर्छौ भनेर प्रश्न गर्नेहरू पनि उहाँको अगाडि धेरै थिए । केही आफन्तहरू त उहाँ सँग लामो समयसम्म यही पेशामा लागेको कारण बोल्नु भएन । तर पनि उहाँले समाजको सोचलाई एक दिन आफुले परिवर्तन गर्ने प्रतिवद्धताको साथ आफ्नो काममा मेहेनत गरिरहनु भयो ।

उहाँ भन्नु हुन्छ–‘ पार्लरमा काम गर्न जाँदा देशमा २०४६ सालको जनआन्दोलन थियो । पाटन ढोकाबाट बस चढेर बागबजार जानु पर्दथ्यो । सिंहदरबार अगाडि पुगेपछि एक हुल मानिसहरू आएर हामी चढेको बसमा आक्रमण गरे । हामी सबै आत्तिएर भाग्यौँ । भाग्ने क्रममा धेरैले मलाई कुल्चिए । म बल्ल बल्ल ज्यान जोगाउन सफल भए । आज पनि त्यो दिन सम्झदा मन सिरिङ्ग हुन्छ ।

जीवन हो, कहिले काँही दुख पीडा अकसमात धेरै समस्याहरू हामीले भोग्नुपर्छ । तर समस्या पर्यो भन्दैमा हामीले जीवनमा हरेश खानु हुँदैन । उहाँले पनि जीवनलाई बुझ्ने क्रममा धेरै संघर्षलाई नजिकबाट नियाल्नु भएको छ ।
२०४९ सालमा उहाँको मागि विवाह भयो । मागि विवाह भए पनि उहाँले श्रीमानको घरमा धेरै माया पाउनु भयो । उहाँको श्रीमानको परिवार शिक्षित पनि हुनुहुन्थ्यो त्यही कारण पनि उहाँले स्वतन्त्र जीवन बिताउन पाउनु भयो । विवाहपछि एक नारीले जस्तो प्रकारको दिनहरू बिताउनुपर्छ भनिन्थ्यो त्यो उहाँको जीवनमा लागु भएन ।

२०५० सालमा छोरा करुण श्रेष्ठको जन्म भयो । सबै परिवारमा खुसीयाली छायो । छोराको जन्मपछि केही समय उहाँलाई सन्तान, घर परिवार तथा आफ्नो व्यवसाय सम्हाल्न कठिन भयो । तर पनि उहाँले आफ्नो सपना पुरा गर्नको लागि सन्तान, परिवार र आफ्नो व्यवसायलाई सकेको समय दिने कोसिस गर्नु भयो ।

त्यसैले २०५५ सालमा छोरी श्रद्धा को आगमन भयो । घरमा लक्ष्मीको आगमन भएपछि उहाँको परिवार निकै खुसी भएको थियो । केही समय उहाँले छोरीको हेरचाहामा नै बिताउनु भयो । सन्तान ठूलो न भएसम्म उहाँलाई व्यवसायमा समय दिन केही कठिन भइरहेको थियो । तर उहाँले सघंर्ष गर्न छोड्नु भएन । उहाँलाई थाहा थियो । यही संघर्षले एक दिन उहाँलाई सफल बनाउँछ ।

उहाँ भन्नु हुन्छ–‘ महिलाहरूले सन्तान घर परिवारको हेरचाह गरेर व्यवसाय गर्न सोचे जस्तो सहज छैन । तर आफ्नो सपना पुरा गर्नको लागि जीवनमा आइपर्ने हरेक संघर्षलाई हामीले झेल्नु पर्नेरहेछ । आज बिताएका ती दिनहरू सम्झदा मलाई कथा जस्तै लाग्छ । ’

उहाँले सन्तान हुर्काउँदै पेन्टिङहरूको तालिम लिएर पार्लर सँगसँगै, पेन्टिङ, फेब्रिक, फलावरको तालिम पनि दिन सुरु गर्नु भयो । श्रीमान र परिवारले पूर्ण रुपमा साथ दिएको कारण उहाँलाई आफ्नो व्यवसायमा अगाडि बढ्न सहज भयो ।
उहाँको श्रीमान पनि आफ्नै पेशामा व्यस्त हुनुहुन्थ्यो । उहाँको पनि व्यवसाय राम्रो हुँदै गयो । दुबैको व्यवसाय राम्रो हुदै गएको अवस्थामा आफ्ना दुवै सन्तानलाई बिदेशमा उच्च शिक्षा हाँसिल गर्न पठाउन सक्नु भयो । व्यवसायिक जिवनमा अनेकौ दुख अवरोह पार गदै गर्दा अनेक किसिमको बाधाहरू आई नपरेको होइन तर जीवन नै संघर्ष हो भनि बुझ्नु भएकी उहाँले सवै किसिमका बाधाहरू पार गदै सफल हुनु भएको हो । उहाँ भन्नु हुन्छ–हामी अगाडि बढ्न नसक्नुको एक कारण हाम्रो सोच पनि हो । हामी कामलाई सानो ठूलो भनेर सोच्छौँ । वास्तवमा इमान्दार पूर्वक गरेको कुनै पनि काम सानो हुँदैन । यदि हामीले मन लगाएर समाजको कुरालाई नकारेर काम गर्ने हो भने कुनै पनि दिदी बहिनी दाजुभाई विदेश जानु पर्ने दिन आउने थिएन । त्यही क्रममा उहाँको आमा बुबा पनि बित्नु भयो । आमा बुबा बितेपछि उहाँ लामो समय निराश हुनुभयो । उहाँको जीवनमा आमा बुबा एक अभिभावक, मिल्ने साथी मात्र हैन दुखको साहारा अनि प्रेरणाको स्रोत पनि हुनुहुन्थ्यो ।
त्यसपछि उहाँले आफ्नो जीवनको केही समय समाज सेवमा सर्मप्रित गर्ने निर्णय गर्नु भयो । उहाँले आफ्नो व्यवसायको २० प्रतिशत समाज सेवमा छुटाउन थाल्नु भयो । उहाँ भगवानप्रति बढी आस्था राख्ने हुनु भयो । उहाँले यस क्रममा हारर्मोनियम, तबला, भजनहरू सिक्नु भयो । उहाँ मठ मन्दिरमा भजन गाउँन थाल्नु भयो ।

उहाँले विभिन्न बृद्धा आश्रममा पुगेर आमा बुबाहरूलाई खाना खुवाउने, जिर्ण मठमन्दिर बनाउन सहयोग गर्ने गनुभयो । यस्तो काम गर्दा उहाँको मनलाई धेरै मनमा शान्ती मिल्थ्यो । उहाँ भन्नु हुन्छ–‘ हाम्रो जिन्दगी भनेको केही नै हैन । हिजो जसरी आएका थियौँ भोलि त्यसरी नै जानु पर्छ । तर मर्नु अगाडि हामीले समाजमा केही नयाँ छाप छोड्नुपर्छ । हामी दुखमा मात्र भगवानको नाम जप्छौँ तर भगवान हामीलाई सुख अनि दुख दुबैमा चाहिन्छ ।’

उहाँले जीवनमा धेरै उतारचढाबलाई भोग्नुभयो । तर कहिले पनि निरास हुन सिक्नु भएन । जीवनमा जति पनि समस्या आए त्यसलाई अगाडि परेर नै सामना गर्नु भयो । देश विदेश घुम्ने क्रममा भारत बैंङकक, अष्ट्रेलियाबाट समेत तालिम तथा अनुभवहरू बटुलेर सही सदुपयोग समेत गर्नु भएको छ । साथै रेडक्रस सोसाइटिमा समेत आवद्ध भई धेरै पटक रक्तदान कार्यक्रम गर्नुभएको थियो । सामाजिक सेवाकै क्रममा आफ्नै टोल गौरीमार्ग सातदोबाटो वडा नम्बर १५ मा उपाध्यक्षको पदमा रही टोल विकासमा धेरै योगदान पनि दिनु भएको छ ।

उहाँ फुर्सदको समयमा फुलहरूमा रमाउने गर्नु हुन्छ । फुलहरू रोप्ने गोडमेल गर्र्ने गर्नु हुन्छ । उहाँ सामाजिक कार्य गरेवापत धेरैपटक सम्मानित हुनु भएको छ । सौन्दर्यकला व्यवसायी संघ प्रशंसा पत्र २०६०, राष्ट्रिय नागरिक सेवा सम्मान २०६३, राष्ट्रिय महिला उद्यमी सेवा सम्मान २०७५ लगायतका रहेका छन् ।

उहाँ सौन्दर्यकला व्यवसायिक संघ नेपाल ललितपुर जिल्लाको अध्यक्ष, उकाली ओराली दिदी बहिनी समुहको उपाध्यक्ष, ऊँ कार टेलिभिजनको केन्द्रिय सदस्य तथा ऊँ कार टेलिभिजनको संरक्षक सदस्य लगायत विभिन्न संस्थामा सक्रिय रुपमा आवद्ध हुनुहुन्छ ।
प्रस्तुतीःबिष्णु माया बास्कोटा