हाइड एन्ड सिक किन्डरगार्डेनको १० औं खेलकुद दिवसको अवसरमा केसी र चौधरी सम्मानित

21

काठमाडौं । हाइड एन्ड सिक किन्डरगार्डेनले ओलम्पियन जित बहादुर केसी र करातेकी मनिषा चौधरीलाई सम्मानित गरेका छन् ।

काठमाडौंस्थित वनस्थलीमा रहेको हाइड एन्ड सिक किन्डरगार्डेनले आफ्नो १० औं खेलकुद दिवसको अवसरमा ओलम्पियन केसी र १३औं सागकी कास्यपदक विजेता मनिषालाई नगद, दोसल्ला र सम्मानले सम्मानित गरेका हुन् ।

उनीहरुलाई हाइड एन्ड सिक किन्डरगार्डेनकी संस्थापक प्रिन्सिपल कुमद भट्ट र संस्थापक निर्देशक इन्दिरा गौतमले सम्मानित गरिन् । हाइड एन्ड सिक किन्डरगार्डेनले दुई दिने खेलकुद कार्यक्रमको पहिलो दिन ओलम्पियन केसीलाई तथा दोस्रो दिन करातेकी मनिषा चौधरीलाई सम्मानित गरेका हुन् ।

खेलकुद दिवसको पहिलो दिन प्ले ग्रुप र नर्सरीको तथा दोस्रो दिन एलकेजी र युकेजीका विद्यार्थीहरुले दैनिक जीवनमा आधारित रहेर विभिन्न खेलहरुमा प्रतिस्पर्धा गरेको विद्यालयको खेलकुद प्रशिक्षक हरि लामाले जानकारी गराए ।

प्रिन्सिपल भट्टले पुरानो पुस्तादेखि नयाँ पुस्तालाई हरेक वर्ष सम्मानित गर्ने उद्देश्यअनुरुप यस वर्ष ओलम्पियन केसी र करातेकी उदियमान खेलाडी मनिषालाई सम्मानित गरिएको बताइन् ।

आफ्नो विद्यालयले विद्यार्थीको सर्वाङ्गिण विकासका लागि पारिवारिक वातावरणमा अध्यननसँगै खेलकुदलाई पनि प्राथमिकता दिएको बताइन् ।

यसअघि हाइड एन्ड सिक किन्डरगार्डेनले १३औं सागमा स्वर्ण जित्न सफल फुटबलका विकेश कुथु, करातेकी अनु अधिकारी र विप्लव लाल श्रेष्ठसँगै प्रशिक्षक दीपक श्रेष्ठ, कुशल श्रेष्ठ र तारा गुरुङलाई सम्मान गरेको थियो । यस्तै फुटबलका सन्देश श्रेष्ठ पनि सम्मानित भइसकेका छन् ।