श्रीमान नै मेरो सफलताको कारण हुन्

36


आमा नानीमैया महर्जन र बुबा हर्षलाल महर्जनको कान्छी छोरीको रुपमा लक्ष्मी महर्जनको जन्म वि.स २०४० साल
फागुन १८ गते किर्तिपुरको कटुझोल टोलमा भएको हो । बाल्यकालमा लक्ष्मी चञ्चले स्वभावको हुनुहुन्थ्यो । उहाँलाई सानैदेखि सृङगार गर्न धेरै मन पर्दथ्यो । पहिले अहिलेको जस्तो सृङगारको समानहरु थिएनन्, त्यसैले उहाँले
रातो, पहेँलो निलो गुलाबी रंगको कागजलाई भिजाएर लिपिस्टिक बनाउनु हुन्थ्यो । विभिन्न रंगको कागजहरुलाई सृङगारको सामान बनाएर खेल्नु हुन्थ्यो । यसरी नै उहाँको बाल्यकाल बित्यो ।

यसरी वि.स २०६० साल बैशाख महिनामा ललितपुरकोसिद्धिपुर (साना गाउँ) मा उहाँको विवाह भयो । विवाह
लगतै ठूलो छोरी एन्जोलीना महर्जनको र सानी छोरी कृष्टिना महर्जनको जन्म भयो । छोरीहरुको जन्मपछि उहाँको केही समय सन्तानको हेरचाहमानै बित्यो । छोरीहरु हुर्कदै गएपछि आफुले पनि केही गर्नुपर्छ । यसरी घरमा मात्र बसेर समय खेर किन फाल्नु भनेर सानैदेखि मन परेको ब्युटिसियन पेशामा लाग्ने योजना बनाउनु भयो । त्यसपछि उहाँले दिदीको छोरी जुना महर्जनको साथमा तीन महिनाको ब्युटिसियन कोर्ष लिनुभयो । उहाँले जुन पार्लरमा ब्युटिसियन कोर्ष सिक्नु भयो । केही समय उहाँले त्यही नै काम गर्नुभयो । २०७२ सालमा गएको महाभुकम्पको प्रभावले गर्दा उहाँले त्यो पेशालाई केही समय रोक्नु भयो जति बेला उहाँ तेस्रो सन्तानको आमा बन्दै हुनुहुन्थ्यो असारमा उहाँले छोरालाई जन्म दिनुभयो । छोरा दुई महिनाको भएपछि उहाँ फेरी आफ्नो पेशामा फर्कनु भयो । त्यतिबेला उहाँलाई श्रीमानले धेरै सहयोग गर्नुभयो ।
सन्तानको हेरचाहदेखि घरको सबै काम श्रीमानले सम्हालेपछि उहाँले स्वतन्त्र रुपमा आफ्नो पेशामा लाग्ने अवसर पाउनु भयो । उहाँलाई सानैदेखि म्युजिकमा पनि धेरै रुची थियो त्यसैले अहिले उहाँ बाँसुरी बजाउन पनि पोख्त हुनुहुन्छ ।
उहाँ आफ्नो श्रीमानलाई भगवानको स्वरुप मान्नु हुन्छ । आज उहाँले पाएको सफलताको कारण पनि उहाँको श्रीमान नै
हुनुहुन्छ । यसै क्रममा ब्युटिसियन पेशा र यसको भविष्यको बारेमा गरिएको कुराकानी…

ब्युटिसियन पेशालाई कसरी लिनुहुन्छ ?
नेपालको सन्दर्भमा यो पेशा अहिलेको निकै फस्टाएको पेशा हो । आजको
समयमा सुन्दर बन्ने महिला तथा पुरुषहरुको चाहाना हुन्छ । अहिलेको व्यस्त
समयमा छिटो छरितो रुपमा तयार हुनको लागि मानिसहरु पार्लर जान्छन् तसर्थ
यो पेशा एक नाम र दाम भएको राम्रो क्षेत्र हो ।

ब्युटिसियन क्षेत्रमा लाग्ने महिलाहरुलाई के भन्न चाहनुहुन्छ ?
ब्युटिसियन पेशा अहिलको दिनमा राम्रो भविष्य भएको क्षेत्र हो । यो क्षेत्रमा
लगनशिलताको साथ लागेमा हामी महिलाहरु पनि पुरुष सरहनै सफल हुन
सक्छौँ । नयाँ प्रविधिको विकाससँगै नयाँ कोर्षहरु आएका छन् । हामीले समय
अनुसार आफुलाई अपडेट गराउन सके यो क्षेत्रमा राम्रो भविष्य छ । त्यसैले
यस क्षेत्रमा लाग्ने महिलाहरुले धर्यताको साथ काम गरे एकदिन अवश्य सफल
हुन्छौँ भन्न चाहन्छु ।

तपाईं ब्युटिसियन न बन्नु भएको भए के बन्नु हुन्थ्यो ?
म ब्युटिसिन न भएको भए डान्सर बन्थे होला । मलाई सानैदेखि नाच्न धेरै
मन पर्दथ्यो । स्कूलहरुमा हुने विभिन्न डान्स कार्यक्रमहरुमा सहभागी हुन्थ्ये ।
कति पटक त मैले प्रथम भएर पुस्कार पनि जितेको छु सायद म ब्युटिसियन
बन्दैन थिए भने कलाकार बन्थे होला ।

अबको योजना के छ ?
अब म यस क्षेत्रसँगै सामाजिक कार्यक्रमा सक्रिय हुने योजनामा छु । मेरो
क्षेत्र र अन्य ठाउँमा बेरोजगार हुनुभएका महिलाहरुको लागि रोजगारको अवसर
दिनको लागि ब्युटिसियन तालिम दिन चाहन्छु । महिलहरुको लागि निशुल्क
तालिम दिएर आत्मानिर्भर बनाउन चाहन्छु ।
अन्त्यमा
ब्युटिसिय क्षेत्रमा महिलाहरुको भविष्य राम्रो छ र घर परिवार सबैलाई समय दिएर
पनि यो क्षेत्रमा नाम कमाउन सकिन्छ । विशेष गृहणी महिलाहरुको लागि यो
क्षेत्र निकै राम्रो छ । म भान्सामा मात्र सीमित रहेका महिला दिदी बहिनीहरुलाई
यसै क्षेत्रमार्फत भए पनि आत्मानिर्भर बन्न आग्रह गर्दछु ।