आशिषको डेब्यू गोलमा नेपालको जित

9


काठमाडौं । आशिष चौधरीले डेब्यू गोल गरेपछि नेपालले साफ च्याम्पियनसिप २०२३ मा पाकिस्तानलाई मंगलबार १–० ले पराजित गरेको छ ।

सुरुवाती दुई खेल हार्दै समूह चरणबाट बाहिरिसकेको नेपालले पाकिस्तान विरुद्ध जितसहित प्रतियोगिता सिध्याएको छ ।

 

बैंगलुरुस्थित श्री कान्तिराव स्टेडियममा भएको खेलमा नेपाललाई सान्त्वना जित दिलाउन आशिषले ८०औं मिनेटमा गोल गरे ।

४६औं मिनेटमा आभास लामिछानेको स्थानमा मैदान प्रवेश गरेका आशिषले लकेन लिम्बुको पासमा नेपालका लागि आफ्नो पहिलो गोल गरेका हुन् ।

नेपाल पहिलो खेलमा कुवेतसँग ३–१ र दोस्रो खेलमा घरेलु टोली भारतसँग २–० ले पराजित भएको थियो । पाकिस्तान भने समूह चरणका तीनवटै खेल हार्दै घर फर्कने भएको छ ।

१५ वर्षपछि साफमा पाकिस्तान विरुद्ध जित

नेपालले साफ च्याम्पियनसिपमा १५ वर्षपछि पहिलो पटक पाकिस्तानलाई पराजित गरेको हो । त्यसका लागि नेपालले निकै संघर्ष गर्नुप¥यो ।

पछिल्लो पटक नेपालले सन् २००८ मा माल्दिभ्समा पाकिस्तानलाई साफमा हराएको थियो । त्यसयता भने नपालले साफमा पाकिस्तानलाई हराउन सकेको थिएन ।

सन् २०१८ मा बंगलादेशको ढाकामा भएको पछिल्लो साफमा नेपाल पाकिस्तानसँग २–१ ले पराजित भएको थियो ।

यस पटक दुई खेल हार्दै समूह चरणबाट बाहिरिसकेको अवस्थामा नेपाल र पाकिस्तान दुवै सान्त्वना जितको खोजीमा थियो । तर त्यसमा नेपालले बाजी मा¥यो ।

नेपालले सुरुवातदेखि नै खेलमा गोल गर्ने राम्रो अवसर सिर्जना गरे पनि फिनिसिङ चुस्त हुन नसक्दा ८० मिनेटसम्म पर्खनुप¥यो । त्यसअघि आधा दर्जन अवसर गुमाएको नेपालले खेलको अन्तिमतिर पनि केही मौका चुकाएको थियो ।

खेलको १३औं मिनेटमा विमल घर्ती मगरले एजबाट गरेको प्रहार बारमाथिबाट बाहिरियो । ४२औं मिनेटमा नेपाले गोल गर्ने राम्रो मौका गुमायो ।

मनिष डाँगीको क्रसमा विमलले बक्स भित्रबाट हानेको प्रहार युसुफ इजाज बटले बचाए । दोस्रो हाफमा पनि नेपालले गोल गर्ने अवसर पाए पनि सदुपयोग गर्न सकेन ।

५१औं मिनेटमा नवयुग श्रेष्ठले गोल गर्ने राम्रो अवसर गुमाए । देवेन्द्र तामाङको फ्रिकिकमा अनन्तले मिलाएको बलमा नवयुगले बक्स भित्रबाट प्रहार गरेर हेडर क्रसबार माथिबाट बाहिरियो ।

६०औं मिनेटमा एरिक विष्टको पासमा मनिषको प्रहार पाकिस्तानी गोलकिपर युसुफ बटले बताए ।

७०औं मिनेटमा देवेन्द्र तामाङको फ्रिकिक क्रस बारमा लागेर फर्कंदा नेपालले गोल गर्ने अवसर गुमायो ।

तर ८०औं मिनेटमा आशिषले गोल गरेपछि नेपललाई राहत मिल्यो ।

पाकिस्तानको लगातार १२औं हार

पाकिस्तानको फुटबलमा भने यो अर्को खराब नतिजाको रुपमा रहनेछ । किनकि यस साफमा समूह्यको सबै तीन खेलमा पराजित भएको पाकिस्तानले लगातार १२ खेलमा हार व्यहोरेको हो ।

२०१८ मा ढाकामा भएको साफमा भुटानलाई समूह चरणको अन्तिम खेलमा पराजित गरेपछि पाकिस्तानले लगातार १२ खेल हारेको हो ।

२०२२ जूनमा फिफाको निलम्बन फुकुवा भएपछि भने पाकिस्तानको यो लगातार आठौं हार हो । गत वर्ष नोभेम्बरमै काठमाडौंमा भएको मैत्रीपूर्ण खेलमा नेपालले पाकिस्तानलाई १–० ले पराजित गरेको थियो ।

त्यसपछि भएको मैत्रीपूर्ण खेलमा माल्दिभ्ससँग पाकिस्तान उही नतिजामा पराजित भयो । साफअघि मरिससमा भएको फोर नेसन्स कपमा पाकिस्तान मरिस, केन्या र जिबुटीसँग पराजित भएको थियो ।

निलम्बनमा पर्नुअघि पाकिस्तान भारत, पाकिस्तान र कम्बोडियासँगको दुई खेलमा पराजित भएको थियो ।