कल्पनाको साहित्यिक लभलेटरले भुतुक्कै भएँः बद्री

22

नवलपरासीमा जन्मिएका बद्री पंगेनी सानैदेखि निकै चञ्चले स्वभावका थिए । तर उनको वास्तविक घर भने पाल्पाको रामपुरमा थियो । उनी रामपुरमै हुर्किएका थिए । सानैदेखि गीत संगीतमा रमाउने उनी गाउँघरमा सानोतिनो कार्यक्रममा पनि गीत गाउन अघि सरि हाल्थे । कल्पना पनि पाल्पाको रामपुरमैै जन्मिएकी हुन् । एउटै गाउँ, एउटै ठाउँ र एउटै विद्यालयमा पढ्ने यी दुइको प्रेमकहानी भने अलि भिन्न छ । प्रायः केटाले केटीलाई प्रेम प्रस्ताव राख्ने गरेको हामी सबैलाई थाहा छ तर यो जोडीमा भने अलि फरक पन देख्न पाइयो । कल्पनालाई बद्री विद्यालयभरी मै राम्रो लाग्थ्यो, त्यसमाथि पनि आफ्ना साथीको सबै जनाको जोडी भएका कारण कल्पनालाई पनि सुरुमा ख्याल ख्यालमै बद्रीको नाममा चिठ्ठी लेख्न मन लाग्यो । उनीहरुको भेट पहिलोपटक गाउँमा ट्रयाक्टर फसेको ठाउँमा भएको थियो । त्यही वेलामा कल्पनाको मनमा बद्री पसिसकेका थिए । कल्पनाले पहिलोपटक लभलेटर पठाउँदा एकदमै साहित्यक शब्दहरु मिसाएर लेखेकी थिइन् । उनको चिठ्ठी लेख्ने शैलीले नै बद्रीलाई प्रभावित पारेको थियो । त्यसपछि बद्री पनि के कम । उनले झन त्यसभन्दा राम्रो चिठ्ठी लेखेर कल्पनालाई पठाइहाले । त्यसपछि भने यी दुइ प्रेमीले दिन विराएर पालै पालो चिठ्ठी आदान प्रदान गर्न थाले । यसरी प्रेम झन् झन गाडा बन्दै गयो  । पछि यो जोडीलाई नचिन्ने पनि कोही भएन, स्कूलमा सानो सानो वच्चाहरु पनि कल्पनालाई देखे भने बद्री भनेर जिस्क्याउथँे, बद्रीलाई देखे भने कल्पु कल्पु भनेर जिस्क्याउने गर्थे । शिक्षक शिक्षिकालाई पनि थाहा थियो । एउटै विद्यालयमा पढ्ने भएकाले यो जोडीलाई एकले अर्कोलाई भेट्न कुनै समस्या भएन । प्रत्येक दिन भेट भइरहन्थ्यो । यो दुइको प्रेमबारे निकै चर्चा हुन थाल्यो । बद्री भन्छन्– हाम्रो जमानाको सवैभन्दा सुपर हिट जोडी नै कल्पना र बद्रीको जोडी हो जस्तो लाग्थ्यो ।

प्रेम प्रगाढ हुँदै गएपछि बद्री र कल्पना विवाह गर्ने सोचमा पुगे । विवाहका लागि भने कल्पनाकी आमाले सहयोग गरिन् । कल्पनाको परिवारमा खासै राम्रो मानिदैनथ्यो बद्रीलाई तर अहिले भने बद्री सुसुरालीका सवैभन्दा प्रिय ज्वाईं भएका छन् । लोकप्रिय गायकका रुपमा आफुलाई स्थापित गराएका बद्री र उनकी श्रीमती कल्पनाले यहाँ सम्म आइपुग्नको लागि संगै मिलेर जीवनमा धेरै सर्घर्ष गरेका छन् । सानै उमेरमा विवाह भएकाले सुरु सुरुमा एक अर्कालाई बुझ्न नसकेर अथवा बद्रीको केटीसँग जोडिएर घरमा कुराहरु आइरहनाले धेरै वादविवाद पनि हुने गर्दथ्यो । एक छोरीका अभिभावक समेत रहेका बद्री र कल्पना छोरीलाई निकै माया गर्छन् । छोरी जन्मनुभन्दा अगाडि साना तिना झगडा भइरहे पनि छोरी भएपछि भने झगडा हुन धेरै कम भयो । आफ्नो बाबा आमाको बारेमा छोरी विहानी पंगेनी भन्छिन् मेरो बाबा आमा–संसारको प्रर्फेक्ट जोडी हुनुहुन्छ ।

उहाँहरुले एकअर्कालाई यत्ति धेरै बुझ्नुभएको छ कि एकअर्काले के महसुश गरिरहेका छन् र के कुरा आवश्यक छ भन्ने नभनेर नै बुझ्नुहुन्छ । उनी भन्छिन् म एउटा उदहारणीय जोडिको रुपमा मान्छु मेरो बाबा मम्मीलाई । बद्री निकै ब्यास्त छन् तर परिवार र आफ्नो पेशालाई तालमेल गरेर अगाडि बढ्न निकै सिपालु पनि छन् उनी । कल्पना भन्छिन्–उहाँ परिवारलाई पहिलो प्राथमिकतामा राख्ने मान्छे हो जस्तो लाग्छ । उहाँ कुनै कार्यक्रममा जानुभयो भने कम्तीमा दिनमा ५ पटक फोन गर्नुहुन्छ तर म भने खासै गर्दिन । बद्री भन्छन्–धेरै माया लाग्छ उनको । मैले फोन गर्नुमात्र होइन, हाम्रो प्रेम कस्तो प्रेम पत्रबाट सुरु भएको हो, सो पत्र अहिलेसम्म सुरक्षित राखेको छु । त्यसले हाम्रो मायाको शुरुवात कसरी भएको थियो भन्ने सम्झाइ रहन्छ र झनै माया गाडा बन्दै जान्छ तर उनले कता फालिन् चिठ्ठी पत्र थाहा छैन । उनी हाँस्दै भन्छन् हाम्रो प्रेमको सबै पत्र सम्हालेर राखेको भए अहिले किताव नै पो निकाल्न सकिन्थ्यो की ? निकै रमाइलो र सहयोगी जोडि बद्री र कल्पना एकअर्काको काममा पनि सधै सहयोग बन्दै आइरहेका छन् । समय हुँदा बद्रीले घरको काममा पनि सघाउने गरेका छन् ।

कल्पना भन्छिन्ः उहाँले पकाएको खाना उहाँ आफूलाई चाहिँ एकदमै मिठो हुन्छ तर अरुले भने खान सक्दैनन् ।बद्री भन्छन्– म विदेशतिर जाँदा खाएको खानाको परिकार बनाउन खोज्छु, अब विदेशी खानालाई स्वदेशी मसला हालेर पकाउँदा कस्तो होला, तपाई आफै सोच्नुहोस् । उनले नमिठो लाग्नुको कारण प्रष्ट पारे । आफु बाहिर कार्यक्रमहरुमा जाँदा आफ्नी जीवन सँगिनीलाई धेरै उपहार ल्याइदिने गरेका छन् । उहाँले यति धेरै उपहार ल्याइदिनुहुन्छ की कुन उपहार हो, कुन होइन छुट्याउँन नै समस्या पर्छ, कल्पना भन्छिन् । कल्पना गीतसंगीतमा निकै रमाउने गर्छिन् । उनलाई गीत सुन्दा निकै आनन्द लाग्छ त्यो पनि बद्रीको गीत । बद्री घरमा पनि धेरै जसो गीत गुनगुनाइरहने गर्छन् । कल्पना भन्छिन्–गाउनकै लागि जन्मिनुभएको हो उहाँ । कल्पनालाई बद्रीका धेरै गीतहरु मन पर्छन् त्यसमा पनि ससुरालीमा… बोलको गीत एकदमै मनपर्छ । धेरै अगाडि निकै चर्चित बनेको यो गीत उनी अहिले पनि सुनिरहन्छिन् । बेला बेलामा सुन्दा निकै रमाइलो महसुश हुन्छ । बद्रीको सबैभन्दा मनपर्ने बानी भनेको धेरै समय रिसाउँदैनन् । प्रायजसो हाँसीरहने स्वभावका बद्री निकै रोमान्टिक छन् भन्छिन् कल्पना ।