अधुरो ज्ञानले आफैँलाई हानी गर्छ

410

उर्जना शाक्य एक सफल ब्युटिसियन हुन् । उनको जन्म २०४२ साल माघ १६ गते पाटनको झटापुरमा भएको हो । बुबा उत्तम शाक्य र आमा मिना शाक्यको उनी पहिलो सन्तान हुन् ।

उनी बाल्यकालमा शान्त अनि लजालु स्वभावकी थिइन् । उनलाई सानो–सनो विषयमा गम्भीर भएर सोच्न र साथीहरुसँग खेल्न असाध्यै मन पर्दथ्यो । मध्यम वर्गीय परिवारमा जन्मिएकी उनले अभाव र पीडामा आफ्नो बाल्यका बिताउन परेन् ।

उनले मंगलबजार रहेको आर्दश कन्या स्कूलबाटे २०५९ सालमा एसएसी दिएकी हुन् । उनलाई सानैदेखि आफैँमा केही सिपहरु सिक्न मन लाग्थ्यो । त्यसैले उनी सानैदेखि सृङगारका विषयमा धेरै नै रुची राख्थिइन् ।

उनले पिनाकल एकेडेमीबाट प्लस टु सकेकी हुन् भने ब्याजर्लर आदर्श कन्या क्याम्पसबाटै गरेकी हुन् । प्लस टु गर्दा गर्दै उनीले आर्किटेकको अफिसमा जागिर पनि सुरु गरेकी थिइन् ।

खासमा उनलाई त्यो समयमा विदेश जान निकै रहर थियो । त्यसैको लागि चिनेकै पार्लरमा साथी मार्फत उनले ब्युटिसियनको ट्रेनिङ लिएकी थिइन् । ब्याजर्लर पनि सकियो तर विदेश जाने कुरामा परिवार सहमति भएनन् । जसको कारण उनले नेपालमा नै केही गर्ने सोच बनाइन् ।

यसै क्रममा उनले आफूले सिकेको सिप सदुपयोग गर्न मंगलबजारमा २०६८ मा उत्पला ब्युटि पार्लर एण्ड ट्रेनिङ सेन्टर भनेर पार्लर खोलिन् । उनले सिकेको एक वर्ष त अरुकैमा जागिर खाएकी थिइन् । बिस्तारै उनले आफ्नो पार्लर जस्तो जागिर न हुने महसुस गरेपछि पार्लर खोलिन् ।

उनले पार्लर खोलेको समयमा मानिसहरुले पार्लरको व्यवसायलाई अहिलेको भन्दा फरक नजरले हेर्ने गर्थे । त्यो समयमा मानिसहरु पार्लर विशेष गरी थ्रेडिङ र कपाल काट्नको लागि मात्र आउने गर्थे । उनले पार्लर खोल्दा परिवारले पूर्ण समर्थन त जनाएका थिए तर पार्लरबाट नै नाम र दाम कमाइन्छ भन्ने कुरामा खासै विश्वास गरेका थिएनन् ।

पार्लर खोलेपछि उनको धेरै समय त्यहि पार्लरमा नै बित्थ्यो । विभिन्न कोर्सको ट्रेनिङ आउँथ्यो उनी ट्रेनिङ लिन विभिन्न ठाउँ जान्थिइन् । उनले सुरुमा पार्लरको सर्भिसलाई मात्र फोकस गरेकी थिइन् पछि विस्तारै ट्रेनिङ दिन सुरु गरिन् । यसरी उनको पार्लरले विस्तारै नाम कमाउँदै गयो ।

त्यही क्रममा उनको भेट दीलिप श्रेष्ठसँग भयो प्रेम बस्यो अनि २०७१ सालमा विवाह बन्धनमा बाँधिइन् । विवाह गरेपछि उनलाई घर परिवार र पार्लर सम्हाल्न केही समय अपठ्यारो त भयो र तर श्रीमानले पूर्ण रुपमा साथ र सयोग गरेको कारण आफ्नो कामलाई निरन्तर अगाडी बढाइरहिन् ।

२०७५ सालमा छोरा दियान श्रेष्ठको जन्म भयो । छोराको जन्मपछि आमाको दाइत्वमा केही कमि नहोस् भनेर छोराको हेरचाहसँगै पार्लरको काममा एकचित्त भएर लागि रहेकी छिन् । उनलाई थाहा छ, यो पेसामा नामसँगै दाम पनि छ । त्यसको लागि कडा मेहेनत र धर्यता हुनुपर्छ । त्यसैले उनी आफु जस्तै यो पेसामा अगाडी बढ्न चाहने महिललाई अधुरो ज्ञानले हानी हुने बताउँछिन् ।

उनी भन्छिन–‘छोटो समय सिप सिकेर सबै कुरा जानेको छु भन्नु गलत हो । यो पेसामा सिक्ने क्रम सधैँ अपुरो नै हुन्छ । त्यसैले अधुरो ज्ञान लिएर काम सुरु गर्नुभयो भने त्यसले तपाईंलाई नै हानी गर्छ । ’

उनले यो पेसाको भविष्य निकै सुन्दर देखेकी छन् । नाम र दामको हिसाबले पनि महिलाको लागि सहज र राम्रो पेसा भएको उनी बताउँछिन् । उनले काम सुरु गरेका समय भन्दा अहिले काम गर्ने शैली तथा मानिसहरुको पार्लर सम्बन्धीको सोच फराकिलो भएको छ । आजभोलि घरमा हुने सानो पार्टीदेखि घुम्न जाँदा समेत मानिसहरु मेकअप गर्न रुचाउँछन् । जसले गर्दा ब्युटिसियन क्षेत्रको भविष्य राम्रो छ ।

उनलाई पार्लरसँगै डिजाइन पनि निकै मन पर्दथ्यो । उनले ६ महिनाको डिजाइनको कोर्स पनि गरेकी छन् । सायद उनी यो क्षेत्रमा न लागेको भए डिजाइनर भन्थिइन् हो । उनी अहिले नेपाल बाणिज्य महासंघको सदस्य, र घरेलु तथा सनो उद्योग महासंघको सदस्य छिन् ।