पहिलो दोहोरी च्याम्पियन बने प्रकाश र मीना

13

काठमाडौं : नेपाल टेलिभिजनको रियालिटी शो ‘दोहोरी च्याम्पियन’ को पहिलो दोहोरी च्याम्पियन प्रकाश पराजुली र मिना बुढाथोकीको टिमले हात परेको छ । प्रकाश र मीनाको समूहले ट्रफी, २० लाख रुपैयाँ नगद र एक करोड बराबरको जीवन बीमा प्राप्त गरेका छन् ।

त्यस्तै, दोस्रो हुने बालचन्द्र र शोभाको समूहले ट्रफी, १० लाख रुपैयासँगै ५० लाख बराबरको जीवन बीमा प्राप्त गरेको छ । सविन आचार्य र रीता रावतको समूहले तृतीय स्थान हासिल गरेको छ । राजेन्द्र पाठक र मीना नेपालको समूहलाई भोटका आधारमा पछि पार्दै सविन र रीताको समूह तेस्रो भएको हो ।

राजेन्द्र र मीनाको समूह सान्त्वना भएको छ । तृतीय र सान्त्वना समूहले क्रमशः तीन लाख र दुई लाख रुपैयाँ प्राप्त गरेका छन् । उनीहरुलाई गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको हातबाट पुरस्कार वितरण गरिएको थियो । ‘दोहोरी च्याम्पियन’को निर्णायकमा गायक प्रजापति पराजुली, गायिका सीता थापा, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानका अध्यक्षसमेत रहेका गीतकार रमेश बि.जी. र गायक तथा गीतकार चन्द्र शर्मा थिए ।

गायक बद्री पंगेनी र गायिका प्रिती आलेले कार्यक्रम संचालकको भूमिका निर्वाह गर्दै आएका थिए । नेपाल टेलिभिजनमा शनिबार राति ८ः५० बजेबाट कार्यक्रम प्रशारण हुँदै आएको थियो ।