दुःखलाई साथी बनाएर हिड्छु

34

जीवनको परिभाषा मानिसको भोगाई अनुसार फरक–फरक हुन्छन् । कतिपयले जीवनलाई एउटा संघर्षको यात्रा मानेका हुन्छन् भने कतिले जीवनलाई मोजमस्ती तथा रंगीन यात्राको रुपमा लिएका हुन्छन् । कतिको जीवन सुखमय हुन्छ भने कतिको दुःखमय हुन्छ । वास्तवमा जीवन भनेको एउटा फुलिरहेको फुल जस्तै हो । जसरी फुल फुलिरहँदा त्यसको वास्ना मिठो हुन्छ । त्यस्तैगरी जीवन सफलताको बाटोतर्फ दौडिरहँदा त्यतिकै महत्व हुन्छ । भनिन्छ नि, हुने बिरुवाको चिल्लो पात नहुने विरुवाको फुस्रो पात । मानिसको जीवन पनि त्यस्तै हो । जसको जीवन राम्ररी सुखमय बितेको छ ।

उहाँहरु सानैदेखि नै मिहिनेती, लगनशीलका साथ अघि बढेका हुन्छन् । जसले एक दिन सफलता अवश्य पनि प्राप्त गर्दछन् । जीवन भनेको दुख सुखको एउटा यात्रा हो । जसरी फुल फुलि रहेको बेलामा फूललाई हावा हुण्डरीले हल्लाउने गर्दछ । घाम र पानीले दुख दिने गर्छ तर अठोट रुपमा फुल्न छोड्दैन । त्यस्तै मानिसको जीवनमा पनि अनेकँौ हावाहुरी आउँछन् तर पनि चल्न छोड्दैन । जब मानिस यो धर्तीमा जन्मिन्छ तबदेखि जीवनको यात्रा शुरु हुन्छ । जसरी आमाले आफ्नो छोराछोरीलाई लाखौँ समस्या झेल्दै हुर्काउनुभएको हुन्छ । त्यसरी नै मानिसले पनि आफ्नो जीवनमा लाखौँ समस्याहरु झेल्दै जीवनलाई फुलाउन प्रयास गरिरहेको हुन्छ । यधपि, जीवनको वास्तविक अर्थ र मिठो अनुभव त्यही व्यक्तिले बटुलेको हुन्छ, जसले जीवनमा आएका अनेकौँ समस्याहरुलाई साथी बनाएर समाधान गर्छ अनि आफ्नो कर्मलाई जीवन बनाउँछ । यसरी नै नेपाली सांगीतिक तथा साहित्य क्षेत्रमा दर्जनौं लोकप्रिय गीतहरुमा आफ्नो गहकिला शब्दहरु मार्फत लाखौं दर्शक श्रोताहरुको मन जित्न सफल बहुप्रतिभाकी धनी व्यक्तित्व हुनुहुन्छ साहित्यकार तथा गीतकार अम्बिका गुरुब । नेपाली सांगीतिक आकासमा आफ्नो नाम सुनौलो अक्षरमा कोर्न सफल गीतकार अम्बिका गुरुबको शब्दमा नेपालका प्राय सम्पूर्ण चर्चित लोकप्रिय गायक तथा संगीतकारहरुले सहकार्य गरिसकेका छन् । आफ्नो कामलाई जीवन बनाएर अगाडी बढिरहनु भएको उहाँ नेपाली साहित्य तथा सांगीतिक क्षेत्रमा १०१५ देखि सक्रिय हुनुहुन्छ ।

अम्बिकाको जन्म आमा कृष्ण कुमारी गुरुब र बुबा वीरबहादुर गुरुबको कोखबाट सातौँ सन्तानको रुपमा पूर्व २ नम्बर दोलखाको फास्कुमा भएको हो । मध्यम वर्गीय परिवारमा जन्मनुभएको अम्बिका बाल्यकालामा निकै सरल स्वभावको हुनुहुन्थ्यो । साथीभाई बनाउन भन्दा पनि एक्लै बस्न धेरै रुचाउनुहुन्थ्यो । उहाँको बाल्यकालका साथीहरु भने कै प्रकृति थियो । उहाँलाई आजको दिनमा पनि त्यो बाल्यकाल याद आउँछ, जतिबेला उहाँ खोलामा माछाका भुराहरुसँग रमाउनुहुन्थ्यो , पुतलीसँग खेल्नु हुन्थ्यो । अनि घरमा भएका बाख्रा, कुखुरा, कुकुर र बिरालोसँग कुरा गर्नुहुन्थ्यो । सानैदेखि अम्बिका निडर हुनुहुन्थ्यो । उहाँलाई कसैले हेपेको तथा अभद्र व्यवहार गरेको मन पर्दैन थियो । त्यसै कारण कति पय अवस्था उहाँ आफ्नै आमासँग पनि न्यायको लागि लड्नपछि पर्नुहुँदैन थियो । दाईहरु घरबाट एक घण्टाको बाटो लगाएर स्कूल जानुहुन्थ्यो । उहाँ आमालाई स्कूल किन न पठाएको भनेर झगडा गर्नु हुन्थ्यो । त्यो समयमा छोरीहरुले न पढे पनि जीवन चल्छ भन्ने मान्यता थियो । जसको कारण उहाँ पनि स्कूल जानबाट बञ्चित हुनुभएको थियो । तर उहाँ सानैदेखि चलाख हुनुहुन्थ्यो । पढ्न धेरै इच्छा भएको कारण दाईहरुले रातभरी टुकी बत्तीमा पढेर सुनेर उहाँले पनि सामान्य रुपमा लेखपढ गर्न सक्ने हुनुभएको थियो । यसरी बुबाको जागिरको कारण उहाँको परिवार काठमाडौँ आएपछि उहाँले साथीको साहारमामा दुई रुपैयाँमा पद्यमदोय स्कूल भर्ना हुनुभयो । त्यहीबाट उहाँले एसएलसी पास गर्नुभयो ।

उहाँलाई सानैदेखि आत्मानिर्भर हुनुपर्छ भन्ने लाग्थ्यो । जसको कारण उहाँले आफ्नो जागिर यात्रा सुरु गर्नुभयो । दाईहरुले उहाँलाई पारिवारिक विजनेश सम्हाल्न भने पनि उहाँले जागिर खाने निर्णय गर्नुभयो । त्यसपछि
उहाँले सरकारी जागिर खानुभयो । बिहान कलेज, दिनभरी कार्यलयमा काम, साँझ अंग्रेजी सिक्नुहुन्थ्यो अनि बेलुका कलेजको गृहकार्य गर्नुहुन्थ्यो । यसरी उहाँको दिनहरु बितिरहेको थियो । यसैक्रममा २०३३ सालमा बुद्धि गुरुङसँग उहाँको विवाह भयो । मेकानिकल इन्जिनियर बुद्धि अमेरिका बस्नु हुन्थ्यो । ववाहका लागि उहाँ नेपाल आउनुभयो । विवाहपछि बुद्धि र अम्बिकाले आफ्नै विजनेश गर्ने सोच बनाउनुभयो । त्यसपछि उहाँहरुले २०४३ सालमा ‘अम्बिका ट्राभल्स’ खोल्नुभयो । व्यापारिक रुपमा सफल भइरहेको व्यापारमा एकदिन बज्रपात भयो । २०४७ साल बैशाखमा बस दुघर्टनामा पर्यो । केही व्यक्तिहरुको निधन भयो । त्यो समयमा उहाँले निकै समझदारीमा समस्या समाधान गर्नुभयो । देशमा भइरहेको राजनीतिक परिवर्तनसँगै उहाँले धेरै समस्या भोग्नुपर्यो । तर पनि उहाँले संयमताको साथ हरेक क्षेत्रमा हरेक ठाउँमा आफ्नो आवाजलाई बुलन्द बनाउनुभयो । त्यो दिनलाई सम्झदै उहाँले भन्नुभयो–‘त्यतिबेला समय निकै बलवान थियो । मैले हरेक कुरामा सहमत जनाएर मात्र बसेको भए पनि हाम्रो धेरै नोक्सान हुन्थ्यो । मत पढेलेखेको मान्छे थिए । आफ्नो आवाजलाई बलियो बनाएर बोल्न सक्थे । त्यस दिन मैले के महसुस गरे भने महिलाहरु शिक्षित भए अन्यायमा पर्दा बोल्न सक्ने रहेछन् आफ्नो हक अधिकारको लागि लड्न सक्ने रहेछन् । ’ जीवनमा हरेक दिन समस्या आउँछ, त्योसँगै समाधान पनि आउँछ भन्ने कुरा उहाँलाई थाहा थियो । त्यसैले हरेक ठाउँमा सत्य र न्यायको लागि उहाँले आवाज उठाउनुभयो । त्यसमा उहाँको जित पनि भयो । यसरी उहाँहरु २०४९ सालमा अमेरिका जानुभयो । जतिबेला उहाँको छोरा दिपशन गुरुङ पनि हुर्कदै हुनुहुन्थ्यो । अमेरिका आफ्ना् देश नेपाल जस्तो थिएन । जहाँ जीवन थियो तर खुसीको लागि हरेक दिन भौतारिनु पर्दथ्यो । आफ्नो लागि हरेक काम आफैँनै गर्नुपर्दथ्यो । यसरी उहाँ अमेरिकी जीवनतमा भिज्दै जानुभयो । अमेरिका पुगेपछि उहाँले चाइल्ड कियरमा मास्टर गर्नुभयो । उहाँले कामलाई सधैँ साथी बनाउनुभएको थियो । अमेरिका बसेर पनि नेपालबाट जाने हरेकलाई उहाँले जागिर खोजिदिनु हुन्थ्यो । कयौँलाई आफ्नै घरमा आश्रय दिएर सक्षम बन्न सिकाउनु हुन्थ्यो । जीवनमा आइ परेका हरेक उताबचढाबलाई उहाँले साथी बनाउनुभयो । जे काम गर्नुहुन्थ्यो लगनशिलताको साथ गर्नुहुन्थ्यो । जसले गर्दा हरेक काममा सफलता पाउनुभयो । कयौँ पटक अरुको जिन्दगी बनाउन उहाँले आफ्नो जिन्दगी दाउमा पनि लगाउनुभयो
तर पनि उहाँ न्याय र सत्यको लागि हरेक समय अगाडि बढिरहनुभयो ।

उमेर बढेसँगै बुढौँलीपनले छोएको छ तर उहाँ आफ्नो धेरै समय कर्मलाई साथी बनाउन रुचाउनु हुन्छ । ६ दशक बढीको जीवन यात्रामा उहाँलेजीवनलाई धेरै तरिकाले बुझ्नु भयो । खान लगाउन दुख नै न परे पनि आफ्नो नाम र कामको लागि उहाँले निकै समय खर्चनुभयो । जसको परिणाम आज उहाँलाई चिन्ने शुभ चिन्तक तथा दर्शकको मायामा देख्न सकिन्छ– उहाँ भन्नु हुन्छ–‘जीवनमा धेरै उताबचढाबहरु आउँछन् हामीले कहिले हरेस् खान हुँदैन । मैले त दुखलाई साथी बनाएको छु त्यसैले हरेक समस्याको समाधान म आफैँ खोज्छु । काम नै हाम्रो धर्म हो । शरीर र मन स्वस्थ रहेसम्म हामीले आफुलाई व्यस्त नै राख्नुपर्छ ।’ गीत संगीतलाई आफ्नो छोरा छोरी मान्ने उहाँले नेपाली सांगीतिक क्षेत्रमा करिब दुई दर्जन भन्दा बढी गीतहरु लेखिसक्नुभएको छ । उहाँले लेखेको अधिकांश गीतमा माया प्रेमका भावहरु हुने गरेका छन् । लामो समय बालबाललिकासँग बसेर काम गरेको अनुभव तथा बालमनोविज्ञानका भावहरु पनि उहाँको गीतहरुमा झल्कने गरेका छन् । २०३२,३३ सालदेखि नै उहाँले रेडियो नेपालमा गीतिकथाहरु लेख्नु हुन्थ्यो । विभिन्न पत्रपत्रिकामा उहाँको कविताहरु छापिने गरेका थिए । उहाँको दुईओटा कविता संग्रह ‘ भावसागर–१’ र ।।।भावसागर–२’ प्रकाशित भएका छन् । दुई ओटा गीति एल्बम ‘भाव सागर–१’, ।।।भाव सागर–२’ सार्वजनिक भइसकेका छन् । उहाँले आफ्नै युट्युब च्यानल गीतकार–भावसागर इन्टरटेन्टमेन्ट एलएलसी र बाल गीतकार युट्युब च्यानल –भावसागर क्रियसन मार्फत आफ्नो गीतहरु प्रचार प्रसार गर्ने गर्नुभएको छ । उमेर ढल्कदै गए पनि उहाँमा काम गर्ने शक्ति अझैँ उर्जावान छ । साहित्य तथा गीतसंगीतसँगै उहाँ समाजसेवामा पनि उत्तिकै सक्रिय हुनुहुन्छ ।