कसरी थाहा पाउने कुष्ठरोग लागेको ?

20


काठमाडौं । कुष्ठरोगको सुरुवाती चरणमा बिरामीमा खासै समस्या देखिँदैन । जसले गर्दा बिरामी समयमानै अस्पतालसम्म पुग्दैनन् । तर कुष्ठरोग आम मानिसले सोचे भन्दा निकै भिन्न प्रकारको रोग हो । सुरुमा ठूलो समस्या नभए पनि पछि विस्तारै यसले अङ्गभङ्ग समेत गराउन सक्छ ।

सरकारी तथ्याङ्क अनुसार प्रत्येक वर्ष सय जनामा कुष्ठरोग लागेकै सुरुको अवस्थामा अङ्गभङ्ग भएको पाइएको छ । समयमा उपचार गराईँ नियमित औषधि सेवन गर्ने हो भने कुष्ठरोग निको हुन्छ । कुष्ठरोग लाग्नुको कारण, उपचार र सावधानीका विषयमा कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखाका प्रमुख डाक्टर रवीन्द्र बाँस्कोटाले जानकारी गराएका छन् ।

के हो कुष्ठरोग ?
कुष्ठरोग माइकोब्याक्टेरियम लिप्रे नामक किटाणुले छाला र स्नायुमा असर पु¥याउने एक किसिमको रोग हो । यो रोग सबै उमेरका मानिसलाई लाग्न सक्छ । कुष्ठरोग सरिहाल्छ भन्ने पनि हुँदैन । तर सर्न सक्ने सम्भावना भएको रोग हो । कुष्ठरोग लागेपछि अङ्गभङ्ग हुने, हात–खुट्टाका औंलाहरु बाङ्गो हुने र झरेर जाने पनि समस्या हुन्छ । समयमा उपचार नहुँदा हात खुट्टाको औँला झर्ने, युवा उमेरमानै बाँच्नको लागि अन्य व्यक्तिको साहरा लिनु पर्ने समस्याहरु कुष्ठरोगीले भोग्दै आइरहेका छन् ।

कुष्ठरोग लागेको कसरी थाहा पाउने ?
फुस्रो, नचिलाउने, सुख्खा र रातो—रातो दाग छालामा देखा परेको छ भने कुष्ठरोग लाग्यो कि भनेर अनुमान लगाउन सकिन्छ । दाग गोलो कुनै साना र कुनै ठूला खालका पनि हुन्छन् । यस्तै दाग देखियो भने कतै कुष्ठरोग लाग्यो कि भनेर अनुमान लगाउनु पर्दछ । साथै हात—खुट्टाको स्नायू सुन्निनु, स्नायू सुन्निदा हात खुट्टा झम— झम गर्ने पनि हुन्छन् । अर्को लक्षण भनेको कानको लोती बाक्लो हुँदै जानु हो । नाकको हड्डी थेप्चो हुने, आँखीभौँ खस्दै जानु पनि कुष्ठरोगका लक्षणहरु हुन् । यस्तो लक्षण देखा परेको खण्डमा सक्दो छिटो नजिकको स्वास्थ्य संस्थामा जानु पर्दछ ।

कुष्ठरोगको किसिम
अहिलेसम्म कुष्ठरोगको बिरामीलाई उपचारको हिसाबले दुई तरिकामा विभाजन गरिएको छ । एउटा कम किटाणु भएको र अर्को बढी किटाणु भएको आधारमा विभाजन गरिएको हो । कम किटाणु भएको कुष्ठरोगको बिरामीले अरुलाई सार्ने सम्भावना पनि कम हुन्छ । शरीर र छालामा कुष्ठरोगका दागहरु पनि कम हुन्छ । कम किटाणु भएको कुष्ठरोगको उपचार पनि कम समयमात्रै हुन्छ । छिटो निको हुन्छ ।

बढी किटाणु भएको कुष्ठरोगमा शरीरमा बढी किटाणु देखिनुका साथै अन्य व्यक्तिलाई सार्ने सम्भावना पनि धेरै हुन्छ । शरीरमा दागहरु धेरै हुन्छ भने त्यस्तो बिरामीको लागि उपचार पनि लामो समय गर्नुपर्ने हुन्छ ।

किटाणु कम छ भने उपचार कम अर्थात ६ महिनाको लागि हुन्छ । धेरै किटाणु भएका कुष्ठरोगका बिरामीले भने एक वर्षको उपचार गर्नुपर्ने हुन्छ । समग्रमा भन्नु पर्दा ६ महिना देखि एक वर्षको उपचार हुन्छ ।