पन्ध्र असार, धान दिवस अनि दहि च्युरा

20

आज धान दिवस …आज धान दिवस … आज धान दिवस …
आज रोपाई गर्न सबै खेतमै भेटौँला
हाँसी हाँसी गीत गाउँदै धान रोपौंला
जेठा, माइला, साइला, काइला सबै जना आउ
जेठी, माइली, साइली, काइली असारे गीत गाउ ।।।

असार लागे संगै यी र यस्तै गीत विभिन्न संचार माध्यममा गुञ्जने गर्दछन्, नेपाल कृषि प्रधान देश, हरेक वर्ष असार पन्ध्र गते नेपालमा धान दिवस मनाउने गरिन्छ । कृषि प्रधान हाम्रो मुलुकमा खाद्य सुरक्षाको प्रमुख आधारको रुपमा रहेको धानको उत्पादनलाई महत्व दिंदै सरकारले असार पन्ध्र लाई राष्ट्रिय धान दिवसका रुपमा मनाउने गरेको छ । धान दिवस बिभिन्न प्रकारले मनाउने गरिन्छ । सरकारले सरकारी तवरबाट यो दिवसलाई मनाउने गरेको छ भने ग्रामिण भेकमा किसानहरुले आफ्नै तवरले मनाउँछन् । असार पन्ध्रका दिन एक फेर हिलो टेक्नु भन्ने मान्यता रहिआएको छ । यस दिन रोपाइलाई पर्वको रुपमा मनाइने हुँदा खेतको हिलोमा पसेर असारे गीत गाउँदै धान रोप्ने गरिन्छ । हलगोरुले हिल्याएको हिलोमा छुपुछुपु धान रोपेर आपसमा रमाउँदै रोपाहार र बाउसेहरु एकापसमा हिलो छ्यापाछ्याप गरी हिलो खेलेर अन्न दिने माटोलाई माया गर्छन् र गीतका भाका मार्फत आपसमा माया पिरती समेत साट्ने गर्छन् ।

असारे मासको दबदबे हिलो छि मलाई घिन लाग्यो,
पातली नानीलाई फरिया किन्दा छ बिस रिन लाग्यो ।
खडेरीले फाटेको यो मन असारमै जोडौँला,
लाठे बनी आउ कान्छा, सँगै पिरती गाँसौला ।।।

यो दिन किसान र सर्वसाधारणहरुले दहि च्युरा खाने गर्दछन् । वर्षामा हिलाम्य भएको शरीरमा उर्जा दिने भएकाले दही च्युरा खाने चलन रहेको विज्ञहरू बताउँछन् । असार पन्ध्र वर्षकै सबैभन्दा लामो दिन मानिने हुँदा हिलोमा गाइने असारे गीतले नेपाली समाजमा दिन छोटा र रात लामा हुने हुँदा हिउँदको शुरुवात भयो भन्ने गरिन्छ ।
नेपालमा उत्पादन हुने विभिन्न अन्नहरुमा धान, मकै, गहँु, कोदो, फापर, जौ, उवा, चिनो आदि हुन् । स्थान विशेष र पोषकतत्व विशेषको हिसावले यी हरेक अन्नको आफ्नै महत्व रहेको छ । तर धानलाई विशेष प्राथमिकता दिएर यसरी दिवस मनाउनुको पछाडी के रहस्य छ ? यो कुरो धेरैलाई थाहा नहुन सक्छ । धान एक यस्तो अन्न हो जो नेपालको सबैजसो जिल्लाहरुमा उत्पादन हुन्छ र धानको चामलको भात हामी सबैलाई मन पर्छ, मीठो लाग्छ । यसलाई नेपालीहरुको मुख्य खानाको रुपमा लिइन्छ । त्यसो त कतिपय पहाडी भूभागमा मकै र हिमाली भेकमा आलुलाई मुख्य खानाको रुपमा लिइन्छ । देशको कुल कृषि क्षेत्रले ढाकेको भूमिमा धानको क्षेत्रफलले ओगटेको हिस्सा अत्यधिक रहेको छ । कुल अन्न उत्पादनमा धानको पहिलो र महत्वपूर्ण स्थान रहेको छ । नेपालबाट निर्यात हुने अन्नहरुमा धानको प्रथम स्थान रहेको तथ्याङ्कले देखाउँछ ।

यी विभिन्न कारणको पृष्ठभूमिमा धान उत्पादक कृषक, उपभोक्ता, धानलाई कच्चा पदार्थको रुपमा प्रयोग गर्ने उद्योगपति, निर्यातकर्ता, धान अनुसन्धान गर्ने बैज्ञानिक र सम्वन्धित सबैको ध्यानाकर्षित गरि धानको गुणस्तर र उत्पादन एवं उत्पादकत्वमा बृद्धि गरि राष्ट्रिय अर्थतन्त्रमा धानको महत्वपूर्ण स्थानलाई कायम राख्ने एवं बृद्धि गर्ने कुराको सम्झना दिने दिनको रुपमा धान दिवस मनाउने गरिएको हो । केन्द्रमा कृषि विकास मन्त्रालयको अगुवाईमा र जिल्लामा जिल्लास्तरीय कृषि कार्यालयको पहलमा धान दिवस मनाइदै आइएको छ । माना छरी मुरी उब्जाई भकारी भरौंला, खेती गर्ने किसानी अव व्यवसायी बनौला, यो देशको किसान हामी यो देशलाई उठाउँछौ, श्रम र शक्ति जुटाई नयाँ नेपाल बनाउँछौं भन्ने भावले किसानहरु धानखेती प्रति समर्पित भएका हुन्छन् ।

आजभोली कृषिलाई व्यवसायका रुपमा अगाडी बढाउन कृषकहरु अग्रसर हुन थालेका छन् । बजारमा कुन बस्तुको माग छ, कुन बस्तु उत्पादन गर्दा बढि फाइदा हुन्छ, उत्पादन गर्न के कति खर्च लाग्छ ? खर्चलाई कसरी घटाउन सकिन्छ, आदि पक्षहरुमा ध्यान पुर्याएर खेती गरेको खण्डमा किसानले धेरै भन्दा धेरै फाइदा लिन सक्नेछन् । यस्ता किसानहरुलाई व्यवसायमुखी वा बजारमुखी किसान भन्न उपयुक्त हुन्छ । कृषि व्यवसायी बन्न कृषक आँफै अग्रसर हुन नितान्त आवश्यक छ । किसानहरुले आफ्नो आमदानी बृद्धि गर्नको लागी मात्र नभई राष्ट्रिय उत्पादन बृद्धि गर्न, खाद्य सुरक्षामा टेवा पुर्याउन पनि व्यवसायिक खेती अपरिहार्य रहेको छ । राष्ट्रिय धान दिवसले कृषकलाई साधारण कृषकबाट व्यवसायिक कृषक बनाउन अभिप्रेरित गर्नुपर्छ भन्ने भनाई यहाँ जोड्नु उपयुक्त हुनेछ ।

खास गरि तरकारी, तरकारीको वीउ, गाईभैंसी पालन, फलफूल खेती गर्ने किसानले व्यवसायिक सोचले काम गरी आर्थिक रुपले सम्पन्न थुप्रै कथाहरु पढ्न र सुन्न पाइन्छ । सधैं धानमात्र लगाउनु पर्छ भन्ने पनि होइन, धानको वदला केरा खेती वा मौसमी, बेमौसमी तरकारी वा माछा पालन गरि राम्रो आम्दानी गरि सफल कृषक बन्न सकिन्छ तर धान हाम्रो मुख्य खाना, कतिपय उद्योग कलकारखानाको लागी कच्चा पदार्थको मुख्य श्रोत र आँफै निर्यात सम्भाव्यता बोकेको अन्न भएकोले हामी सबैको ध्यान यसमा केन्द्रित हुनुपर्छ र यस अर्थमा नेपालको परिपे्रक्षमा धान दिवस र पन्ध्र असारको ठुलो महत्व रहेको छ ।