नगरकोट भ्रमण वर्ष–२०८२ को तयारी अन्तिम चरणमा, राष्ट्रपति पौडेलले उद्घाटन गर्ने
भक्तपुर । नयाँ बर्ष नजिकिए संगै पर्यटकीय क्षेत्र नगरकोट भ्रमण बर्ष–२०८२ को तयारी तिव्र पारिएको छ । चाँगुनारायण नगरपालिकासहित काभ्रेका मण्डन देउपर, बनेपा र काठामाडौंको शंखरापुर नगरपालिकाको संयुक्त आयोजनामा हुन लागेको भ्रमण वर्षको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गर्ने बताइएको छ ।
भ्रमण वर्षको तयारीस्वस्प विभिन्न सरोकारवाला निकायहरुसँग छुट्टा छुट्टै छलफल तथा अन्तक्रिया गर्ने कार्यक्रम सम्पन्न भइसकेको छ । साथै चारै नगरपालिकास्तरीय छलफल समेत सम्पन्न भइसकेको जनाइएको छ ।
चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले नगरकोट भ्रमण वर्षको तयारी अन्तिम चरणमा पुगेको बताएका छन् । भ्रमण वर्षको तयारीस्वस्प नै प्रचार प्रसार देखि उद्घाटन हुने कार्यक्रम स्थलको तयारी तथा अन्य आवश्यक सम्पूर्ण तयारी लगभग अन्तिम चरणमा पुगेको मेयर खत्रीको भनाई छ ।
बैशाख १ गते राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ भने २ र ३ गते बृहत्त साँस्कृतिक कार्यक्रम गरिनेछ । विशेष गरि २०८२ सालभरि विविध कार्यक्रम गरि मनाइने भ्रमण वर्षको मुख्य लक्ष्य नगरकोटको पर्यटन प्रबद्र्धन गरि नगरको समृद्धिमा टेवा पुर्याउनु रहेको छ ।
नगरपालिकामा मेयर खत्री नेतृत्वको नयाँ जनप्रतिनिधि निर्वाचीत भएर आएपछि बसेको पहिलो कार्यपालिका बैठकबाट नगरकोट भ्रमण वर्ष २०८२ मनाउने निर्णय भएको थियो । सो निर्णय बमोजीम नै नगरपालिकाले भ्रमण वर्षको तयारी थालेको थियो । भ्रमण वर्षको अन्तिम तयारीमा जुटिरहँदा मण्डल देउपुर, बनेपा र शंखरापुर नगरपालिकाले पनि सहकार्य गर्न तयार भएपछि संयुक्त रुपमा मनाउन लागिएको हो ।
सोही तयारी अनुरुप लामो समयदेखि अलपत्र कमलविनायक नगरकोट सडक खण्डको बाटो निर्माण तथा अन्य सडक व्यवस्थापनको कामलाई पनि तिव्रता दिइएको छ । त्यस्तै, नगरपालिकाले नगरकोट भ्रमण वर्ष २०८२ सफल बनाउन सचिवालय निर्माण गरि सचिवालयमार्फत आफ्ना कार्य गरिहेको छ । विशेष गरि पशुपति विकास कोषका पूर्व कार्यकारी निर्देशक डा. घनश्याम खतिवडालाई भ्रमण वर्षको लागि फोकल पर्सन तथा विज्ञको रुपमा नियुक्त गरि आवश्यक कार्य भइरहेको हो । डा. खतिवडाले आफूले जिम्मेवारी समालेपछि विभिन्न तह तप्का तथा सरोकारवालाहरु छलफल गरेर तयारी अन्तिम चरणमा पुगेको बताए । नगरकोट काठमाडौँबाट नजिकै रहेको एक महत्वपूर्ण पर्यटकीय क्षेत्र हो । विशेष गरी काठमाडौँ उपत्यकामा आउने मानिसहरु घुम्नको लागि नगरकोट क्षेत्रमा जाने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस