फ्रिजी लाइट : संगीत, मानवता र शिक्षामार्फत उज्यालो फैलाउँदै

नवनारी
१ असोज २०८३
38 Views

राहत बोकेर दुर्गम बस्ती पुगेको एउटा अभियान, जसले शिक्षा र अवसरको बाटोसमेत खोल्दैछ

नेपालको भूगोल जति सुन्दर छ, त्यति नै चुनौतीपूर्ण पनि। विशेषगरी हिमाली तथा दुर्गम पहाडी क्षेत्रका धेरै बस्ती आज पनि शिक्षा, स्वास्थ्य र आधारभूत सेवाको सहज पहुँचबाट टाढा छन्। त्यहाँका बालबालिकाका लागि विद्यालय पुग्नु नै चुनौती बन्न सक्छ भने महिलाहरूका लागि सामान्य स्वास्थ्य सेवा प्राप्त गर्नु पनि कठिन हुन सक्छ।

यही वास्तविकताबीच दुर्गम बस्तीहरूमा सहयोग, आशा र अवसरको सन्देश बोकेर पुगिरहेको एउटा मानवीय अभियान हो— फ्रिजी लाइट  ।

संगीतकार तथा मानवतावादी फ्रिजी ग्रेफ को नेतृत्वमा अघि बढिरहेको फ्रिजी लाइट को नेपाल यात्रा राहत वितरणमा मात्र सीमित छैन। विपन्न समुदायलाई तत्काल आवश्यक सहयोग पुर्‍याउनेदेखि शिक्षा र स्वास्थ्यजस्ता दीर्घकालीन आवश्यकतामा योगदान गर्ने प्रयाससम्म यसको यात्रा फैलिएको छ।

यस अभियानको भावनालाई एउटा वाक्यले सुन्दर रूपमा समेट्छ—
“Together for a better world.”
अर्थात्, राम्रो संसारका लागि सँगै।

राहतको हातदेखि शिक्षाको उज्यालोसम्म

फ्रिजी लाइट ले हरेक वर्ष सञ्चालन गर्ने हेल्प टुर मार्फत नेपालका विभिन्न दुर्गम तथा विपन्न समुदायसम्म प्रत्यक्ष सहायता पुर्‍याउँदै आएको छ। खाद्यान्न, शैक्षिक सामग्री, न्यानो कपडा, सुत्ने झोलालगायत आवश्यक सामग्री वितरणसँगै स्वास्थ्य सेवामा समेत सहयोग पुर्‍याउने गरिएको छ।

तर यो अभियानको विशेषता तत्कालीन राहतमा मात्र सीमित रहनु होइन। आजको आवश्यकता पूरा गर्दै भोलिको सम्भावनातर्फ पनि सोच्नु यसको अर्को महत्वपूर्ण पक्ष हो।

यसको एउटा उदाहरण हो—रक्सिराङस्थित FRIZZEY LIGHT Learning Center No. 02

सन् २०२५ मा आयोजित हेल्प टुर  का क्रममा फ्रिजी लाइट  को टोली रक्सिराङको दुर्गम क्षेत्रमा पुगेको थियो। विपन्न समुदायसँग भेटघाट गर्दै आवश्यक मानवीय सहायता प्रदान गरिएको थियो। त्यसको एक वर्षपछि त्यही क्षेत्रमा ८० बालबालिकाका लागि नयाँ Learning Center उभिएको छ।

एक वर्षको अन्तरालमा एउटै ठाउँमा देखिएको यो परिवर्तन आफैँमा अर्थपूर्ण छ। एउटा समय त्यहाँ आवश्यकता र अभावको कथा थियो, अर्को समय त्यही ठाउँमा बालबालिकाका लागि कक्षाकोठा, शिक्षा र नयाँ सम्भावनाको सुरुवात भएको छ।

त्यसैले यो केवल एउटा भवन निर्माणको कथा होइन। यो राहतबाट शिक्षातर्फ, तत्कालीन सहयोगबाट दीर्घकालीन अवसरतर्फ अघि बढेको मानवीय यात्रा हो।

८० बालबालिकाको भविष्यसँग जोडिएको एउटा कक्षाकोठा

रक्सिराङ नेपालको दुर्गम पहाडी क्षेत्रमध्ये एक हो। त्यहाँ निर्माण भएको FRIZZEY LIGHT Learning Center No. 02 ले ८० बालबालिकाका लागि शिक्षाको नयाँ अवसर सिर्जना गरेको छ।

शहरमा एउटा विद्यालय सामान्य संरचना जस्तो लाग्न सक्छ। तर दुर्गम बस्तीमा एउटा विद्यालयको अर्थ धेरै फरक हुन्छ। त्यो केवल पढ्ने ठाउँ होइन; बालबालिकाको सपना देख्ने ठाउँ हो। आफ्नो भविष्यबारे सोच्ने ठाउँ हो। समाजसँग जोडिने र नयाँ अवसर खोज्ने आधार हो।

नयाँ कक्षाकोठामा बालबालिका र शिक्षकहरूसँगै फ्रिजी ग्रेफ ले संगीत प्रस्तुत गर्दा वातावरण अझ उत्साहपूर्ण बनेको थियो। बालबालिका तथा शिक्षकहरू पनि गीत र संगीतमा सहभागी भए।

त्यहाँ संगीतले मनोरञ्जनको सीमाभन्दा पर गएर मानिसहरूलाई जोड्ने काम गर्‍यो।

रक्सिराङकै हिमाली परिवेशमा फ्रिजी ग्रेफ ले आफ्नो सांगीतिक यात्राको उच्च स्थानमा कन्सर्टसमेत प्रस्तुत गरे। स्थानीय बालबालिका, शिक्षक र समुदायको उपस्थितिमा भएको उक्त प्रस्तुति संगीतसँगै शान्ति, मानवता र एकताको सन्देश बोकेको विशेष क्षण बन्यो।

हामीलाई के चाहिन्छ?—LOVE!”

Learning Center को उद्घाटनका क्रममा एउटा सरल तर गहिरो सन्देश गुञ्जियो—

“What do we need? – LOVE!”

अर्थात्,
हामीलाई के चाहिन्छ?—प्रेम!

यो प्रश्न र यसको उत्तर फ्रिजी लाइट  को मानवीय यात्राको भावनासँग जोडिएको देखिन्छ।

शिक्षा चाहिन्छ। स्वास्थ्य चाहिन्छ। खाद्यान्न चाहिन्छ। सुरक्षित जीवन चाहिन्छ। तर यी सबै प्रयासको केन्द्रमा मानिसप्रतिको सम्मान, करुणा र प्रेम हुनु आवश्यक छ।

सायद यही कारणले दुर्गम गाउँको कक्षाकोठामा गुञ्जिएको “LOVE” शब्द एउटा नाराभन्दा धेरै ठूलो अर्थ बोकेको थियो।

पोखराको चिमरुङमा रहेको FRIZZEY LIGHT Learning Center No. 01 मा पनि यही भावना देखिएको थियो। “फ्रिजी र क्रिस्टिन” , बालबालिका, शिक्षक तथा स्थानीय समुदाय एकै ठाउँमा उभिएर प्रेम, मानवता, शान्ति र शिक्षाको सन्देश साझा गरेका थिए।

मुगु : स्वास्थ्य सेवाबाट शिक्षासम्म

फ्रिजी लाइट को मानवीय यात्रामा मुगुको अध्याय पनि महत्वपूर्ण छ।

नेपालका अत्यन्त दुर्गम क्षेत्रमध्ये एक मुगुमा गरिए हेल्प टुर को  का क्रममा ५०० भन्दा बढी महिला तथा किशोरीले स्वास्थ्य सेवा प्राप्त गरेका थिए। तीमध्ये धेरैका लागि चिकित्सक तथा स्त्रीरोग विशेषज्ञसँग भेट्ने त्यो पहिलो अवसर थियो।

स्वास्थ्य सेवासँगै शैक्षिक सामग्री र सुत्ने झोलासमेत वितरण गरिएको थियो।

तर सहयोग त्यतिमै रोकिएन। सन् २०२२ मा सोही क्षेत्रमा फ्रिजी लाइट को सहयोगमा विद्यालय निर्माण भयो।

यसले मानवीय सहयोगको अर्को महत्वपूर्ण पक्षलाई देखाउँछ—राहतले कठिन समय पार गर्न सहयोग गर्छ भने शिक्षा भविष्य निर्माण गर्ने आधार बन्न सक्छ।