बिनाको पहल : लालपुर्जामा फोटो टाँस्ने नियमदेखि सामाजिक अभियानसम्म
जीवन जिउन जाने एक कला हो भन्ने कुराको जीवित प्रमाण हुनुहुन्छ, साहित्यकार बिना पोखरेल। उमेरले ७० पार गरिसकेकी बिनाले जति जीवनलाई नजिकबाट नियालेकी छन् , सायद कमै व्यक्तिहरूले मात्र त्यो जीवनको अनुभव माैका पाउँछन् । मध्यमवर्गीय परिवारमा जन्मिएकी बिनालाई अब बचाउने एक प्रयास भनेर ती नर्सले कोसिस नगरेको भए यो सुन्दर धर्तीले एक प्रेरणाको स्रोतलाई गर्भमा नै गुमाउनुपर्ने अरू कुनै विकल्प हुँदैन थियो।
बिनाले आफ्नो जीवनको ३२ वर्ष कृषि विकास बैंकको सेवामा समर्पित गरिन्। छोरी, श्रीमती, आमा, सासु र हजुरआमा हुँदै महिलाका विभिन्न भूमिकालाई अहम रूपमा निभाएकी बिना दुःखको भीडमा पनि खुसी खोज्न निकै माहिर छिन्।
२०७८ सालमा ‘जीवनका अनुभूतिहरू’ नामक किताब सार्वजनिक भएसँगै बिना सबैका लागि प्रेरणाको स्रोत बनिन् । बिनालाई खुला किताबका रूपमा बुझेका व्यक्तिहरू नै उनको किताब पढेर भावुक बने। साधारण र सफा मनकी बिनाको जीवनले के–कस्ता दिनहरू पार गरे भन्ने विषयका अनुभूतिहरूको सङ्गालो बुझ्न सबैले एकपटक ‘जीवनका अनुभूतिहरू’ किताब पढ्न निकै आवश्यक छ। ‘जीवनका अनुभूतिहरू’ को दोस्रो संस्करण यही असोज ७ गते सार्वजनिक भएको छ।
एक महिला, जसले आफ्नो जीवनमा भोगेका हरेक दुःख र संघर्षका पललाई ‘जीवनका अनुभूतिहरू’ का रूपमा सार्वजनिक गरेकी हुन् । उनको यो साहसलाई मान्नैपर्छ। अझै पनि यताकता महिलाहरू घुम्टोमा नै बस्ने, चुलाेचनैकामा नै सिमित हुने हाम्रो समाजमा बिना जस्ता महिलाहरू पनि छन्, जसले आफ्नो जीवनको यथार्थलाई ‘जीवनका अनुभूतिहरू’ का रूपमा सार्वजनिक गरिन् । बिनाले जीवनमा धेरै उदाहरणीय काम गरेकी छन् जुन काम सबैका लागि प्रेरणाको स्रोत हो।
बिनाले आफ्नो जागिरे कार्यकालमा धेरै त्यस्ता परिवर्तनहरू गरिन् , जसले समाजमा हुने ठगी–धन्दालाई निर्मूल पार्न विशेष भूमिका खेलेको छ।
लालपुर्जामा फोटो टाँस्ने नियम
२०३७ सालमा बिना बैंकको एक कर्मनिष्ठ कर्मचारीका रूपमा कार्यरत थिईन् । उनी अन्य कर्मचारीभन्दा निकै फरक थिईन्, कारण उनी समयपालक र जिज्ञासु स्वभावकी थिईन्।
एक दिन एक जना आमा ऋणको लागि बैंकमा आएकी थिईन् साथमा उनको छोरा बनेका एक व्यक्ति पनि थिए। बिना ऋण लिन आउने हरेक व्यक्तिलाई ‘ऋण केको लागि? हजुरलाई ऋण किन चाहियो?’ भनेर सोध्ने गर्थिन्।
जब बिनाले त्यही प्रश्न आमालाई गरिन्, तब थाहा भयो ती आमा त पैसाको प्रलोभनमा एकछिनको लागि आमा बनेकी रहिछन्। योसँगै ती आमा र उक्त व्यक्तिलाई कारबाही भयो।
बिनाले ऋण लिन आउने हरेकको फोटो अगाडि नै फाइल गर्ने नियम लागू गरिन्। जुन नियम अन्तमा जग्गा किनबेचका लागि मालपोत कार्यालयमा लागू भयो। त्यही बेलादेखि जग्गा बेच्दा र किन्दा लालपुर्जामा फोटो टाँस्ने नियम लागू भएको हो।
सकारात्मक सोच
७० वर्षको उमेरमा बिनाको शरीरमा भएको ऊर्जा सकारात्मक सोचका कारण आएको हो। बिनाले बाल्यकालदेखि आजको दिनसम्म जीवनमा धेरै प्रकारका मानिसहरूसँग नजिकबाट संगत गरिन्। कसैले खुट्टा तानेर तल झार्न खोजे त कसैले माथि पुग्नका लागि हौसला दिए। तर पनि कसैको बारेमा बिनाले नराम्रो सोचिनन्।
कृष्णभक्त बिना ‘जे हुन्छ, राम्रोका लागि हुन्छ’ भन्ने सकारात्मक सोचका साथ जीवनमा निरन्तर अगाडि बढिरहिन्। त्यही सोचले उनलाई सफल बनाउँदै लग्यो।
मनभित्रको डर
अधिकांश महिलाहरू पछि पर्नुको कारण हो—मनभित्रको डर। महिलाहरू घर, परिवार र समाजको डरका कारण धेरै पछाडि परेको बिनाको भनाइ छ।
हामीलाई जीवनमा सफल हुनु छ भने सबैभन्दा पहिला आफ्नो मनमा भएको डरलाई जरैदेखि निकालेर फाल्न आवश्यक छ। कुनै पनि काम गर्ने प्रयास गर्दा ‘म सक्दिनँ होला, के हुन्छ होला?’ भन्दा पनि आत्मविश्वास बलियो बनाएर ‘म गर्न सक्छु’ भन्ने सोच्नुपर्छ। सही र सत्यको बाटोमा हिँडेको मान्छेले मनमा डर होइन, आत्मविश्वास बोक्नुपर्छ।
आत्मनिर्भरबिनाको जीवनमा केही पारिवारिक आलोचकहरूको पनि गुनासो रहेको थियो। परिवारको बारेमा नलेखे पनि हुने थियो भन्नेहरू पनि थिए। तर बिनाले आफ्नो परिवार र जीवनका वास्तविक अवस्थाबारे लेखेर जुन साहस र बहादुरी देखाएकी छन्, त्यो प्रशंसनीय छ। यदि उनले ती कुरा नलेखेकी भए, सायद पुस्तक अधुरो नै हुने थियो।
विशेषगरी भर्खरै जागिर वा कामको क्षेत्रमा प्रवेश गरेका महिला दिदीबहिनीहरूले आफ्नो करियरको सुरुवाती समयको पारिवारिक अवस्था, संघर्ष र परिस्थितिबारे खुलेर लेख्न सक्नु आफैंमा ठूलो बहादुरीको काम हो। आफ्नो परिवार र व्यक्तिगत जीवनका कठिन पक्षहरूलाई इमानदारीपूर्वक शब्दमा उतार्न साहस चाहिन्छ। मन सफा हुने र आफूले भोगेका कुरालाई स्वीकार गर्न सक्ने व्यक्तिले मात्रै यसरी खुलेर लेख्न सक्छ भन्ने धारणा पनि व्यक्त गरिएको थियो।
महिला र पुरुष बराबर हुन् भने पनि अझै अधिकांश पुरुष जागिरमा जाँदा महिला घरको भान्सामा नै सीमित गरेको पाइन्छ। यदि महिलाले रोजगारी गर्ने अवसर पाए भने महिलाहरू पनि पुरुषभन्दा अब्बल हुन सक्छन्, त्यसको एक उदाहरणीय पात्र बिना पनि हुन् ।
जसले आत्मनिर्भर बनेर घर–परिवारलाई सबल बनाएकी छन्। त्यसैले महिलाहरू आत्मनिर्भर भए भने समाजमा प्रतिष्ठित व्यक्तिका रूपमा चिनिनेछन्।
अन्तमा
बिनाको एक मात्र सिद्धान्त हो—सबैलाई राम्रो गर्ने।
‘कुकुर भुके हजार, हात्ती चले बजार’ भनेझैँ गरी जीवनमा अगाडि बढे सफल हुन सकिन्छ।

प्रतिक्रिया दिनुहोस