नागरिक आवाज अभियान’द्वारा भोटेकोशी घटनाका पीडितको सम्झनामा कार्यक्रम आयोजना

नवनारी
२२ असोज २०८३
48 Views

काठमाडौं । सत्य र तथ्यमा आधारित रहेर नागरिकका आवाज उठाउने उद्देश्यसहित सुरु गरिएको ‘नागरिक आवाज अभियान’ले भोटेकोशी घटनाका दिवंगत तथा पीडित परिवारको सम्झनामा कार्यक्रम आयोजना गर्ने भएको छ।

अभियानले सार्वजनिक गरेको सूचनाअनुसार भोटेकोशी घटनाको ४५औँ दिनको साँझ पीडित परिवारको उपस्थितिमा मैनबत्ती प्रज्वलन कार्यक्रम आयोजना गर्न लागिएको हो। कार्यक्रममा सहभागी भई पीडित परिवारप्रति ऐक्यबद्धता जनाउन इच्छुक सबैलाई अभियानले आग्रह गरेको छ।

कार्यक्रम असोज २३ गते साँझ ५ बजे काठमाडौंको माइतीघर मण्डलामा आयोजना हुने जनाइएको छ।

‘बोलौँ, मौनता महँगो पर्छ’ भन्ने नारासहित अघि बढाइएको नागरिक आवाज अभियानले आफूलाई विशुद्ध गैरराजनीतिक नागरिक अभियानका रूपमा प्रस्तुत गर्दै आएको छ। अभियानले सत्य र तथ्यमा आधारित रहेर देश तथा जनताका सवालमा आवाज उठाउन नागरिकलाई जोडिन आह्वानसमेत गरेको छ। अभियानमा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, पूर्वमन्त्री हृदयेश त्रिपाठी, पूर्वमन्त्री तथा पूर्वराजदूत दीपकुमार उपाध्याय, पूर्वमुख्यसचिव बिमल कोइराला, नेपाली कांग्रेसका नेता शंकर भण्डारी, लेखक तथा विश्लेषक अरुणकुमार सुबेदीलगायत विभिन्न क्षेत्रका व्यक्तिहरू जोडिएका छन्। त्यस्तै, प्राध्यापक, व्यवसायी तथा सामाजिक क्षेत्रमा सक्रिय व्यक्तिहरूको पनि अभियानमा सहभागिता रहेको जनाइएको छ।