नसर्ने रोगसम्बन्धी एक महिने निःशुल्क परीक्षण अभियान सुरु
काठमाडौँ । स्वास्थ्य मन्त्रालयले नसर्ने रोगसम्बन्धी एक महिने निःशुल्क अभियान सुरु गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदिप पौडेलले पोखरास्थित शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र नयाँबजारमा अभियानको शुभारम्भ गरेका छन् ।
“जनतालाई रोगी बन्न नदिने रणनीति तय गर्न आवश्यक छ”, अभियानको सुरुवात गर्दै मन्त्री पौडेलले भने, “निरोधात्मक क्षेत्रको कामलाई प्रभावकारी बनाउनका लागि अभियान शुरु गरिएको हो ।” विशेषतः मधुमेह, उच्च रक्तचाप आदिका कारण धेरै स्वास्थ्य समस्या आउने जनाउँदै उनले ती समस्याको शुरुमा नै पहिचान भएमा अन्य रोग निम्तन नसक्ने बताए । शुरुमा नै समस्याको पहिचान भए त्यसबाट जटिलता ननिम्तने बताउँदै उनले ३० वर्ष माथिका सबै नागरिकको रोगको पहिचान आवश्यक भएको बताए ।
यस अभियानका लागि तीनवटै तहका सरकारबीच समन्वय आवश्यक हुने बताउँदै उनले फागुनभर यो अभियान सञ्चालन हुने जानकारी दिए । यो अभियान प्रत्येक वर्ष फागुन महिनामा सञ्चालन गरिने उनको भनाइ छ । अभियानको स्वास्थ्यमन्त्रीबाट नै रक्त परीक्षण एवम् रक्तचाप परीक्षण गरी शुभारम्भ गरिएको थियो । कार्यक्रममा पोखरा महानगरपालिकाका प्रवक्ता मोति तिमल्सिना, पोखरा महानगरपालिका–८ का वडाध्यक्ष रुद्रनाथ बराल, तेजाखर लम्साललगायतले अभियानले नसर्ने रोगको पहिचानमा महत्वपूर्ण उपलब्धि हासिल हुने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस