अमेरिकाबाट फिर्ता ल्याइएका पुरातात्त्विक सम्पदाहरु सम्बन्धित पालिकालाई हस्तान्तरण
काठमाडौँ । पुरातत्त्व विभागले अमेरिकाबाट फिर्ता ल्याएका २१ वटा पुरातात्त्विक महत्त्वका कलात्मक वस्तुहरू सम्बन्धित पालिकालाई हस्तान्तरण गरेको छ । नेपालबाट विभिन्न समयमा चोरी गरेर अमेरिका पुर्याइएका ती सम्पदा केही हप्ताअघि नेपाल ल्याइएकामा आज बिहान विभागले पालिकालाई हस्तान्तरण गरेको हो । यीमध्ये तीन वटा पौवा चित्रहरू १५ देखि १८औं शताब्दीका रहेका छन् ।
यी पौवा चित्रहरू काठमाण्डौमा रहेको इटुम्बहालबाट २०३७ सालमा हराएका थिए भने नवौं शताब्दीको एउटा प्रस्तरबाट निर्मित स्थानक बुद्धको मूर्ति बुङ्गमतीको मच्छिन्द्रबहाल परिसरको चैत्यबाट हराएको थियो । यस्तै आर्ट इन्स्टिच्युट शिकागोबाट फिर्ता भएको पाटनको गुइत टोलको गुइत चैत्यको प्रस्तरको मुद्धलिन्द बुद्धको मूर्ति १२औं वा १३औं शताब्दी तथा अन्य १६ थान कलात्मक वस्तुहरू ९औं देखि १९औं शताब्दीका हुन् । ती सम्पदा नेपालका विभिन्न ठाउँबाट हराएर अमेरिका पुर्याइएका थिए ।
हस्तान्तरण कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाली सम्पदाहरू संसारको कुनै पनि कुनामा पुगे पनि नेपाली सम्पदाको महत्त्वलाई बुझेर सम्पदा फर्काउने योग्यता राख्ने बताएका छन् । उनले आफ्नो आस्था जोगाउन अब सक्षम रहेको दाबी पनि गरे ।
अहिलेसम्म बेलायत, अस्ट्रिया, अमेरिका, चीन (तिब्बत), भारत, जर्मनी, अस्ट्रेलिया र इटलीबाट एक सय ७७ थान पुरातात्त्विक महत्त्वका मूर्तिहरू तथा कलात्मक वस्तुहरू फिर्ता भइसकेका छन् । अमेरिका, फ्रान्स, बेलायत, चीन, अस्ट्रिया, अस्ट्रेलियाजस्ता देशहरूबाट थप अरू केही कलात्मक वस्तुहरू फिर्ताका लागि कूटनीतिक पहल भइरहेको विभागले जानकारी दिएको छ । अहिले सम्म अमेरिकाबाट मात्र नेपालमा फिर्ता भएका पुरातात्त्विक महत्त्व भएका वस्तुहरूको सङ्ख्या एक सय चार वटा पुगेको विभागले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस