सुनौलो भविष्यको लागी अमेरिका छिरेकाहरु बोरा र प्लास्टिकका झोला सहित रित्तोहात फर्कीए

अमेरिकाबाट डिपोर्ट गरिएका ३७ जना नेपालीहरु काठमाडौं आइपुगे

नवनारी
२६ जेठ २०८२
292 Views

काठमाडौं । अमेरिकाबाट डिपोर्ट गरिएका ३७ जना नेपालीहरु काठमाडौं आइपुगेका छन् । आईतवार राति त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै उनीहरु नेपाल आइपुगेका हुन् । अध्यागमन कानून उल्लंघन गरेको भन्दै अमेरिकाले डिपोर्ट गरेका ३७ जना नेपालीलाई गतराति काठमाडौं ल्याएर छोडेको हो । उनीहरुलाई अमेरिकाले चार्टर्ड विमानमार्फत काठमाडौं ल्याएको थियो ।

अमेरिकाले पछिल्लोपटक डिपोर्ट गरेका ३२ पुरुष र ५ महिला गरी ३७ जना नेपाली रहेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लोपटक सत्ता सम्हालेपछि अमेरिका सरकारले आप्रवासीहरुमाथि कडाइ गर्दै आएको छ । भिसा प्रक्रिया पूरा नगरेका, भिसा अवधिभन्दा बढी समय बसेका र चालचलन राम्रो नभएकाहरुलाई अमेरिकाले नियन्त्रणमा लिएर उनीहरूकै देश फर्काउने गरेको छ ।

सुनौलो भविष्यको परिकल्पना सहित विभिन्न माध्यामबाट अमेरिका पुगेका नेपालीहरु अहिले बोरा र प्लास्टिकका झोला सहित रित्तोहात फर्कीएका छन् । अमेरीकाले यस अघि पनि विभिन्न समयमा नेपालीहरुलाई आफ्नो चार्टर्ड विमान मार्फत नेपाल पठाएको थियो ।


धेरै पढिएको