प्राकृतिक रेशा संघको अध्यक्षमा जानकी प्रधान चयन

नवनारी
१८ साउन २०८३
1,125 Views


काठमाडौं । प्राकृतिक रेशा संघको पहिलो महाधिवेशनबाट नयाँ नेतृत्व सर्वसम्मत छानिएको छ भएको छ । महाधिवेशनबाट उद्यमी जानकी प्रधानको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति चयन गरिएको हो । निर्वाचित पदाधिकारी उपाध्यक्षमा सर्जुसिंह महर्जन, सचिवमा श्रीशा पौडेल तथा कोषाध्यक्षमा मेरी पौडेल निर्वाचित भएका छन् ।
त्यसैगरी कार्यसमिति सदस्यमा हिसिला ओली, लिला जोशी, श्रीकुमारी चौधरी, सुजना कुलुङ्ग र रजनी राई चित्रकार निर्वाचित भएका छन् ।
नवनिर्वाचित कार्यसमितिले प्राकृतिक रेशासँग सम्बन्धित उद्योग, उद्यम तथा व्यवसायको संरक्षण, प्रवद्र्धन, सीप विकास, बजार विस्तार तथा सरोकारवाला निकायसँग समन्वय गर्दै संघलाई थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।
महाधिबेसनमा बागमती प्रदेश सरकारकी उपसभामुख अप्सरा चापागाईंले उद्यमशीलता विकासमा प्राकृतिक रेशा संघले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताइन् । उनले महिला उद्यमीहरूले स्थापना गरेको यस संघमा प्राकृतिक रेशा सम्बन्धिका तथ्याङ्क सहज रुपमा पाउन सक्ने हुनुपर्ने पनि बताइन् । यो क्षेत्रको सीप सिक्न चाहनेहरूले पनि सहज रुपमा यही संघ मार्फत सिक्न अवसर प्राप्त गर्न सक्ने बनाउनुपर्ने पनि उनको भनाइ छ ।
प्राकृतिक रेशा संघ एक गैरनाफामूलक, गैरराजनीतिक तथा गैरसरकारी संस्था हो, जुन स्थानीय कच्चा पदार्थको उपयोग, स्वरोजगार सिर्जना तथा आत्मनिर्भरता अभिवृद्धि गर्ने उद्देश्यले वि.सं. २०८३ मा स्थापना गरिएको अध्यक्ष प्रधानले बताइन् ।


यस संस्थाले प्राकृतिक रेशा सम्बन्धी उद्यमी तथा व्यवसायीहरूको हकहित संरक्षण, समस्या समाधान, बजार विस्तार तथा उद्यम विकासमा सहजीकरण गर्ने कार्य गर्दछ । साथै कच्चा पदार्थ, उत्पादन गुणस्तर तथा सीप विकासका लागि अध्ययन, अनुसन्धान, तालिम, गोष्ठी तथा सेमिनार सञ्चालन गर्दै दिगो विकासमा योगदान पु¥याउने लक्ष्य राखेको छ ।
संस्थाले प्राकृतिक रेशा क्षेत्रका सरोकारवालाहरूबीच समन्वय, सहकार्य र सशक्तीकरणमार्फत नेपालको आर्थिक विकास, वातावरणीय संरक्षण तथा समावेशी सामाजिक विकासमा योगदान पु¥याउने उद्देश्य राखेको संघकी अध्यक्ष जानकी प्रधानले बताइन् ।