देशभरको तापक्रम बढ्दो क्रममा, स्वास्थ्य संस्थामा पुग्ने बिरामीको संख्या बढ्यो

नवनारी
१२ वैशाख २०८२
262 Views

काठमाडौँ । पछिल्लो एक साता यता काठमाडौँ उपत्यकाको तापक्रम निरन्तर बढिरहेको छ । यो क्रम भोलि शनिबारसम्म जारी रहने तथा आगामी आइतबारदेखि बदली भई तापक्रम घट्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज उपत्यकाको तापक्रम ३१ देखि ३४ डिग्री सेल्सियसका बीच रहने विभागको पूर्वानुमान छ ।
आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना पनि छ ।

महाशाखाका अनुसार आज राति कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । गण्डकी र कर्णाली प्रदेशका हिमाली भागका केही स्थानका साथै कोशी प्रदेशको हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

अत्याधिक गर्मी बढेसंगै देशभरका स्वास्थ्य संस्थामा बिरामीहरुको संख्या समेत बढिरहेको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा. युवानिधी बसौला फागुनको अन्तिम सातादेखि नै गर्मीजन्य स्वास्थ्य समस्याका बिरामीहरु अस्पताल आउने क्रम बढ्दै गइरहेको बताए ।

उनका अनुसार हाल टेकु अस्पतालमा मात्र गर्मीजन्य स्वास्थ्य समस्या लिएर अस्पताल पुग्ने बिरामी २५ प्रतिशतले बढेका
छन् । कतिपय बिरामीलाई भर्ना नै गरेर समेत उपचार गर्नु परिरहेको उनले जानकारी दिए । विशेष गरी तराईका क्षेत्रमा अत्याधिक रुपमा गर्मी बढेकाले स्वास्थ्य सर्तकता अपनाउन चिकित्सकहरुले सुझाव दिएका छन् ।


धेरै पढिएको