प्रधानमन्त्री ओलीद्वारा शीर्ष नेताको तस्बिरमा माल्यार्पण
काठमाडौँ- नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीका तीन शीर्ष नेताको तस्बिरमा माल्यार्पण गरेका छन्।
राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएपछि ललितपुरको च्यासलस्थित नेकपा ९एमाले० को केन्द्रीय कार्यालय पुगि उनले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठ, एमालेका पूर्वअध्यक्ष मनमोहन अधिकारी तथा पार्टीका तत्कालीन महासचिव मदन भण्डारीको तस्बिरमा माल्यापर्ण गरेका हुन्।
प्रधानमन्त्री ओलीसँगै पार्टी कार्यालय पुग्नुभएका नवनियुक्त उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, रक्षामन्त्री मानविर राई र सामान्य प्रशासन तथा सङ्घीय मामिलामन्त्री रामकुमार गुप्तासमेतले उहाँहरुको तस्बिरमा माल्यार्पण गरेका थिए।
माल्यार्पणपछि प्रधानमन्त्री ओलीलाई एमालेका नेता तथा कार्यकर्ताले पुष्पगुच्छा, खादासहित बधाई तथा शुभकामना दिनुभएको थियो। सो अवसरमा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, महासचिव शङ्कर पोखरेललगायत पार्टीका नेता तथा कार्यकर्ताले प्रधानमन्त्री ओलीलाई बधाई दिएका थिए। त्यसअघि प्रधानमन्त्री ओलीले लैनचौरस्थित सहिदहरुको शालिकमा माल्यार्पण गरेका थिए।

प्रतिक्रिया दिनुहोस