सरकारले पाठेघरको मुखको क्यान्सर जोखिम घटाउन (एचपीभी) विरुद्धको खोप नि:शुल्क दिने
काठमाडौँ- सरकारले पाठेघरको मुखको क्यान्सर न्यूनीकरण गर्ने उद्देश्यले बालबालिकालाई ह्युमन प्यामिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप निशुल्क दिने भएको छ ।
‘ग्लोबल एलायन्स फर भ्याक्सिन एन्ड इमुनाइजेसन’ (गाभी)को सहयोगमा देशभरका १० देखि १४ वर्षसम्मका बालबालिकाई ह्युमन प्यामिलोमा भाइरसविरुद्धको खोप दिन लागिएको हो ।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार पुससम्ममा खोप आइसक्ने छ । उनका अनुसार करिब देशभर १० देखि १४ वर्षसम्मका १६ लाख ८८ हजार बालिका छन् ।
‘एचपीभीविरुद्धको खोप पुससम्ममा आइसक्ने गरी गाभीसँग सम्झौता भइसकेको छ । माघदेखि विद्यालय तहमा गएर बालिका दिने योजना बनाएका छौं,’ डा. गौतमले अनलाइनखबरसँग भने, ‘खोप दुई पटक दिनुपर्ने र केही खोप खेर जाने हुँदा करिब ३४ लाख डोज आवश्यक पर्ने देखिन्छ ।’
तर यो अभियान यस वर्षको मात्र होइन । हामी यसलाई नियमित खोपको कार्यक्रममा समावेश गरी १० वर्षको बालिकालाई मात्रै दिने सरकारको योजना छ । ‘अर्को वर्षदेखि यो खोप नियमित खोप कार्यक्रममा समावेश गरिनेछ । जसले गर्दा हरेक वर्ष १० वर्ष उमेरका करिब ३ लाख २० हजार बालिकाहरुले खोप पाउँछन्,’ गौतमले भने, ‘यसवर्ष गाभी सहयोगमा प्राप्त भएको हो । तर नियमित खोप सञ्चालन गरेरपछि सरकारले नै खरिद गर्नुपर्ने हुन्छ ।’
गत वर्ष नै सरकारले एचपीभीविरुद्धको खोप अभियान सञ्चालन गरेको थियो । जसमा सातै प्रदेशका अस्पतालहरुबाट १४ वर्ष उमेरका करिब १० हजार बालिकाहरुलाई खोप दिइएको थियो ।
पाठेघरको मुखको क्यान्सर सबभन्दा बढी नेपाली महिलामा देखिने स्वास्थ्य सम्बन्धी समस्यामध्ये एक भएकाले सरकारले यो खोपबारे जनचेतना फैलाउनुका साथै सर्वसुलभ रूपमा उपलब्ध गराउनुपर्ने विज्ञ बताउँछन् ।
चिकित्सकका अनुसार पाठेघर मुखको क्यान्सर निको हुने सम्भावना धेरै हुन्छ । पाठेघरको मुखको क्यान्सर पहिलो स्टेज र दोस्रो स्टेजको ‘ए’ स्टेजसम्म छ भने अप्रेसन गर्नुपर्छ । अप्रेसन गर्दा पाठेघर निकालेर फालिन्छ । दोस्रो स्टेजको ‘बी’ देखि लिएर तेस्रो स्टेजमा पुगेपछि किमोथेरापी र रेडियोथेरापी सँगसँगै दिएर उपचार गरिन्छ । चौथो स्टेजमा भने रोग फैलिसकेको हुन्छ ।

प्रतिक्रिया दिनुहोस