दुई जनाको उद्धार गर्ने चणिकलाल तामाङलाई व्यवसायी सिंहले गरिन् सम्मान

नवनारी
१४ असोज २०८१
285 Views

काठमाडौँ- शनिबार नख्खुखोलाले बगाएका दुई जनाको उद्धार गर्ने सिन्धुपाल्चोकका चणिकलाल तामाङको साहसको प्रशंसा गर्दै व्यवसायी नामग्याल डोल्कर सिंहले उनको सम्मान गरेकी छन्। व्यवसायी सिंहले आइतबार तामाङलाई घरमै बोलाएर सम्मान गर्दै पुरस्कार दिएकी हुन्।

तामाङले शनिबार ललितपुर महानगरपालिका २५ सुगम टोलस्थित नख्खु खोलाले बगाएका रौतहटका ४३ वर्षीय राजु साह र उनकी छोरी ६ वर्षीया मेघनाको उद्धार गरेका थिए।

आइतबार अपराह्न महाराजगञ्जस्थित आफ्नै घरमा आयोजित एक कार्यक्रममा सिंहले तामाङको सम्मान गर्दैं उनले समाजका लागि देखाएको वीरताले आफू भावविह्वल भएको बताइन्। ‘सरकार छैन कि भनेजस्तो अवस्थामा चणिक तामाङजस्ता भाइहरु हाम्रो समाजका खम्बाहरु हुन्,’ सिंहले भनिन्।

तामाङले एक सामान्य नागरिकका रुपमा सिंहले गरेको सम्मानप्रति खुसी प्रकट गर्दै उनले दिएको राशि परिवारलाई दिने बताए।

सिंहले मानवीय भावना देखाएर नदीमा बगिरहेकाहरुको उद्धार गर्ने तामाङको सबैले सम्मान र प्रशंसा गर्नुपर्ने बताइन्।

 


धेरै पढिएको