टिकटकलाई ट्रम्पले दिए ७५ दिनको समय सिमा
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकलाई ७५ दिनको समय दिने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । शपथग्रहणपछि राष्ट्रपति ट्रम्पले कार्यभार सम्हाल्दै टिकटकलाई ७५ दिनसम्मको समय दिने निर्णय गरेका हुन् । टिकटकले सो प्लेटफर्म अमेरिकालाई बेच्नुपर्ने वा प्रतिबन्ध गर्नुपर्ने बाध्यता छ ।
पूर्वराष्ट्रपति जो बाइडेनको कार्यकालमा कंग्रेसबाट पारित भई हस्ताक्षर भएको यो कानुन ७५ दिने अवधिमा लागु नहुने ट्रम्पले बताएका छन् । राष्ट्रपति भवन ओभल अफिसमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले टिकटकबारे धेरै धनाढ्यहरूले सम्पर्क गरी चासो व्यक्त गरेको पनि बताए ।
सन् २०२० को पहिलो कार्यकालमा ट्रम्प आफैं पनि टिकटकलाई प्रतिबन्ध लगाउने पक्षमा थिए । यसबारे पत्रकारले उनलाई प्रश्नसमेत सोधेका थिए । जबाफ दिँदै उनले भने, ‘किनकी म आफैले प्रयोग गर्नुपर्नेछ।’ उनले टिकटकलाई संयुक्त उद्यमको रूपमा ५० प्रतिशत अमेरिकाको र ५० प्रतिशत चिनियाँ माउ कम्पनी बाइटडान्सले सञ्चालन हुने गरी पार्टनरसिपको योजना रहेको पनि बताए । यसबारे अन्य कुरा नखुलाएको बिबिसीले जनाएको छ । गत शनिबार साँझदेखि अमेरिकामा टिकटक चल्न छाडेको थियो । तर केही समयपछि नै ट्रम्पले यसमा कार्यकारी आदेश दिने भनेपछि पुनस् सञ्चालनमा आएको थियो ।

प्रतिक्रिया दिनुहोस