भारतमा रेल दुर्घटनाः ११ जनाको मृत्यु त्यसमा तीन जना नेपाली
काठमाडौँ । भारतमा रेल दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । यात्रुहरू रेलबाट हाम फालेपछि अर्को आउँदै गरेको रेलले किचेर उनीहरूको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।
मृत्यु हुनेमा तीन जना नेपाली पनि रहेका छन् । ११ वर्षीय नन्दराम विश्वकर्मा, २३ वर्षीय लच्छी राम पासी र ४३ वर्षीया कमला भण्डारीको मृत्यु भएको दैनिक भास्करले समाचारमा उल्लेख गरेको छ । उनीहरूको ठेगाना भने खुल्न सकेको छैन ।
यो घटना पश्चिमी महाराष्ट्र राज्यमा भएको हो । त्यहाँ भारतको जीर्ण रेल नेटवर्कमा यस्ता दुर्घटनाहरू हुने गरेका छन् । यो रेल नेटवर्कले दैनिक लाखौँ यात्रुको यात्रा गराउँछ ।
देशको आर्थिक केन्द्र मुम्बईबाट करिब चार सय किलोमिटर टाढा दुर्घटना भएको जलगाँव जिल्लाका शीर्ष अधिकारी आयुष प्रसादले भने, “मानिसहरूलाई रेलले किचेको छ । ११ जनाको मृत्यु भएको छ र करिब पाँच जनाको उपचार भइरहेको छ ।” आगलागीको अलार्म सत्य थियो वा झुटो भन्ने तत्काल स्पष्ट भएको छैन ।

प्रतिक्रिया दिनुहोस