सहयात्राः वैवाहिक सम्बन्ध बलियो भयो भने जीवन सहज हुन्छ

नवनारी
२१ माघ २०८१
370 Views

काठमाडौँ । दुवै पाङग्राहरू समानान्तर रुपमा गुड्दामात्रै रथले सहज बाटो पहिल्याउन सक्छ । गुडिरहन सक्छ । नत्र गति रोकिन सक्छ, दुर्घटना नै हुन पनि सक्छ । त्यसरी नै मानव जीवनको सहयात्रा पनि दुवै जनाको समदौ‌‌‌‌ड अर्थात समान बुझाइ र सामथ्यले सहज र सुन्दर बनाउँछ । ठीक त्यसैगरी जीवनको सुन्दर सहयात्रा गर्ने जोडी हुनुहुन्छ, हेमबहादुर श्वाँर र शशी श्वाँर । वि.स २०१७ सालमा काठमाडौँमा जन्मिनुभएका हेमबहादुर श्वाँर र २०२७ सालमा नेपालगञ्जमा जन्मिनुभएकी शशी श्वाँरको सहयात्रा सुरु भएदेखि अहिलेसम्म थुप्रै उकाली–ओराली पार गरिसक्नुभएको छ । उकालीमा एकअर्काको हात तान्ने र ओरालीमा दरिलो गरी खुट्टा अड्याइदिने काम दुवैजनाले पालैपालो गर्दै आउनुभएको छ । उहाँहरूको यो सहयात्रामा सम्झिनुपर्ने कुराहरु धेरै छन् । किनकि सुन्दर सहयात्राले जीवनलाई खुसी बनाइदिएको छ । खुसी जीवनलाई कसले पो सम्झिंदैन र ? र, यो खुसी र सुन्दर जीवनको निर्माता उहाँहरू आँफै हुनुहुन्छ ।

तीन दशकको सहयात्रामा हाल शशी श्वाँर ए.बि.सी. आवासीय माध्यामिक विद्यालयमा संस्थापक प्राधानाध्यापकका रुपमा सक्रिय हुनुहुन्छ । उहाँका श्रीमान् हेमबहादुर भने अवकाश प्राप्त वकिल हुनुन्छ । नेपालगन्जका स्थायी बासिन्दा उहाँहरुको सानैमा मागी विवाह भएको हो । वैवाहिक जीवनपछि रहरलाग्दो सहयात्रा गर्नुभएका मध्यम वर्गीय श्वाँर जोडीको बानी–व्यहोरा भने निकै फरक–फरक छ । एक सिक्काका दुई पाटा भनिएका श्रीमान्–श्रीमतीको व्यवहार पनि सिक्काकै दुई पाटाकै जस्तो फरक–फरक हुनु अस्वभाविक हुनु पनि होइन । श्रीमति शशी आफ्ना जायज कुरा तर्कसंगत राख्न सक्ने र हक्की स्वभावकी हुनुहुन्छ । श्रीमान् हेमबहादुर भने ठीक उल्टो कसैलाई केही भनी नरिउने र सहन शक्ति भएका निकै शान्त स्वभावका हुनुहुन्छ ।

शशीले सानैदेखि पारिवारिक जिम्मेवारी बहन गर्नुभएको हो । उहाँ ९ वर्षको उमेरमा उहाँकाे बुबाको मृत्यु भयो । तयसपछि शशीको काँधमा परिवारको जिम्मेवारी आयो । भाइबहिनीहरूको रेखदेखको जिम्मेवारी र पारिवारिक जिम्मेवारी सबै आफैंले लिनु पर्ने भयो । सानै उमेरमा ठूलो जिम्मेवारी उठाउनु पर्ने भएकोले पनि आफूमा अलि हक्की स्वभावको विकास भएको उहाँको बताउनुहुन्छ । यो स्वभावले पनि उहाँलाई स फलताका लागि सहयोग गरेको छ ।
प्रारम्भिक शिक्षा नेपालगंजबाटै प्राप्त गर्नुभएकी शशीको विवाह पनि सानै उमेरमा भएको थियो । वि.स. २०६८ सालमा स्नातकोत्तर उत्तीर्ण गर्नुभएकी उहाँले विवाहपछि नै उच्च शिक्षा हाँसिल गर्नुभएको हो । विवाह भएपश्चात पढाइलाई निरन्तरता दिनुभएकी उहाँले वि.स.२०४१ सालमा एसएलसी परीक्षा दिनुभएको हो । त्यसपछि वि.स.२०४४ सालमा भने उहाँले जेठो छोरा ओजस्वीलाई जन्म दिनुभयो । छोरीको जन्म भएपछि भने उहाँकाे उच्च शिक्षा केही समयका लागि रोकियो । उहाँले परिवारको लागि समय दिन थाल्नुभयो । तर, उहाँले छोरा हुर्किन थालेसँगै पढाइलाई पुनः निरन्तरता दिनुभयो । वि.स.२०४८ सालमा आएर उहाँले उच्च शिक्षासम्मको अध्ययन पूरा गर्नुभयो ।
वि.स.२०५३ सालमा शशीले छोरा आश्विन श्वाँरलाई जन्म दिनुभयो । छोरालाई पनि हुर्काएपछि भने उहाँ स्वतन्त्र ढंगले अगाडि बढ्नुभयो । यसैक्रममा शशीलाई उहाँका श्रीमान् हेमबहादुरले पूर्ण साथ दिनुभयो । त्यसैले त उहाँले अध्ययन, परिवार र पेसालाई सँगैसँगै अगाडि बढाउनसक्नुभयो ।

विवाहलाई अद्धितीय यात्राको रुपमा लिने शशी जीवनको प्रत्येक क्षण एक अर्कासँग साझा गरेको अनुभव सुनाउनुहुन्छ । यात्रामा भएको आरोह–अवरोहरूले पनि यो जोडीलाई सन्तुष्ट र पूर्ण जीवनको अनुभव गराएको छ । श्वाँर जोडीको यो साझा जीवनको प्रत्येक पलमा एक अर्काको समर्थन र समझदारीका साथ अगाडि बढाउनुभयो । जीवनको सहयात्रालाई अत्यन्त महत्वपूर्ण रुपले लिएकोले आफूहरूरूले वैवाहिक जीवन चुनौतीलाई सहजतामा रुपान्तरण गर्दै सुन्दर र सुखद् बनाउँदै अगाडि बढेको उहाँहरूरूो भनाइ छ । यी सबै कुराले गर्दा आफूहरूरूो प्रेम सम्बन्धले एकर्आलाई बल र उत्साह दिइरहेको र परस्परको सम्बन्धलाई समर्थन गर्न सिकाउने गरेको उहाँहरू बताउनुहुन्छ ।

विवाह आफैंमा उत्सव हो । यसलाई कसरी लिने भन्ने महत्वपूर्ण कुरा हो । जीवनलाई अगाडि बढाउन एकअर्काले साथ प्राप्त गर्नु पनि विवाह हो । त्यसैले त विवाहपछिको सहयात्रामा स्वार जोडी सधैं सफल भएको छ । विवाहले अगाडिको जीवनको दिशा पनि देखाउँछ । विवाह सम्बन्ध साँचिकै मजबुत भयो भने जीवन सहज बन्दै जान्छ । ‘यसको महत्वपूर्ण हिस्सा यो हो कि हाम्रो यो जोडीले हरेक सफलतामा, उत्सवमा र असफलतामा पनि सँगै बनाउने सामथ्र्य राखेको छ,’ शशी भन्नुहुन्छ ।

शशी विद्यालयका साथै अन्य सामाजिक संघसंस्थाहरुमा पनि आबद्ध भएर काम गरिरहनुभएको छ । यिनै सामाजिक कार्यका कारण पनि उहाँ श्रीमान्भन्दा धेरै व्यस्त हुनुहुन्छ । उहाँको यो व्यस्ततालाई पनि उहाँका श्रीमान्ले पूर्णरुपमा सहयोग गर्दै आउनुभएको छ । र, सामाजिका कार्यका लागि सधैं हौसला दिइरहनुभएको छ । ‘यो यात्रामा घनिष्टता, समर्पण, समझदारी र हरेक परिस्थितिमा एक अर्काको सहयोगले नै सम्बन्ध प्रागाढ बनाएर हाम्रो जोडीलाई अगाडि बढ्न सहयोग मिलेको छ,’ शशीले जीवनका पलहरूरू सम्झिंदै भन्नुहुन्छ, ‘यी सबै कारणले यो जोडीले जीवनको यो यात्रालाई मिठास चुनौती र प्रगतिको सफर हो भन्ने बुझेको छ ।’

शशीका श्रीमान् हेमबहादुर भने काठमाडौंमै जन्मिनुभएको हो । बुवा मुकुन्दबहादुर श्वाँर र आम बसुन्धरा श्वाँरका जेठा पुत्रका रुपमा उहाँ काठमाडौंमा जन्मिनुभयो । हाल भने हेमबहादुरको नेपालगंजमा स्थायी बसाइ छ । पेसाले उहाँ वकिल भए पनि अहिले अवकाश भएर जीवन बिताइरहनुभएको छ । उहाँका दुवै छोराहरु हाल अमेरिका र अस्ट्रेलियामा हुनुहुन्छ । तर, शशी र हेमबहादुर दुवै जना एकअर्कालाई साथ दिएर नेपालमै आफ्नो कर्ममा रमाइरहनु भएको छ । हेमबहादुर श्वाँरको भनाइमा सहयात्रा त्यो हो जुन सहयात्रीले जीवनको हरेक सुख दुःखमा साथ दिन्छ । जीवनमा सफल सहयात्राले देखावटी जीवनभन्दा वास्तविकतामा जिउन सिकाउने उहाँ बताउनुहुन्छ । विश्वास र मायालाई जीवनको रथ बनाएर नै यो जोडी आजसम्म निरन्तर अगाडि बढिरहेको छ ।

शशि श्वाँरको जन्म भने नेपालगन्जमा भएको हो । बुवा शिबबहादुर केसी र आमा पदमा केसीको पहिलो सन्तानको रुपमा उहाँले यस धर्तीमा पाइला टेक्नु भएको हो । एक बहिनी, एक भाइ र आमासहित सानो परिवारमा हुर्किनुभएकी उहाँको सामाजिक परिवेशले गर्दा सानै उमेरमा विवाह भउको हो । सानै उमेरमा विवाह भए पनि श्रीमान्कै साथ र हौसलाले उहाँले आफ्नो जीवनलाई सुन्दर बनाउन सक्नुभयो । विवाहपछि अध्ययनलाई पनि पूर्णता दिएर आफ्नो कार्यक्षेत्रसँगै बाह्य अन्य संघ संस्था र सामाजिक कार्यमा पनि त्यतिकै सक्रिय हुनुभएको छ शशी । उहाँ आफ्नो इमान्दारिता र मिहिनेतले गर्दा मात्र होइन श्रीमान्को भरपूर साथ पाउँदा सबैतिर सफल हुनसकेको सुनाउनुहुन्छ ।

बिहे भएको बेलाको परिवेशमा श्रीमान्सँग खुलेर बोल्दा पनि अपाच्य हुन्थ्यो । तर, शशी बजारमा हुर्किनुभएकाले यस्ता कुरामा त्यति धेरै हेक्का राख्नु भएन । जसले गर्दा उहाँले परिवारका अरु सदस्यहरू धेरै भनाइ सुन्न पनि पर्यो । तर, बिस्तारै श्रीमान्को साथ–सहयोगले त्यो परिस्थिति सामान्य हुँदै गयो । समय बदलियो । सबै ठीक भयो । अहिले पनि हेमबहादुर आफै बिहानको चिया बनाउनुहुन्छ, शशी उठेपछि सँगै दुवै जना सँगै चिया पिउँनुहुन्छ । पुराना कुरा गरेर रमाइलो गर्नुहुन्छ । यतिसम्मकि कहिलेकाँही दुई जनाको सामान्य झगडा भइहाल्यो भने पनि हेमबहादुरले चिया पकाएर शशीलाई फकाउनुहुन्छ । रिसाएको बेलामा पनि हेमबहादुर चिया लिएर आउनुहुन्छ । सँगै बस्नुहुन्छ । दुवै जना एकअर्कासँग नबोलेरै सँगै बसेर चिया पिउनुहुन्छ । र, त्यो एकछिन् अगाडिको बोलचाल बन्दको वातावरण लामो समयसम्म रहिरहसक्दैन । दुवै जना जीवनका सुख, दुःखकै कुराकानीमा फर्किनुहुन्छ । जीवनको सहयात्रा सुन्दर भएको निष्कर्ष निकाल्नुहुन्छ र खुसी हुनुहुन्छ ।

शशीका श्रीमान् हेमबहादुर श्वाँरले वि.स.२०३४ सालमै एसएलसी दिनुभएको हो । त्यसपछि वि.स.२०३८ सालमा आईएल र वि.स.२०४८ सालमा बिएल गरेपछि वि.स. २०५० सालदेखि अधिवक्ताको हैसियतमा गुलरिया बर्दियामा वि.स.२०७५ सालसम्म काम गर्नुभयो । उहाँ काविल अधिवक्ताका रुपमा काम गरेर अहिले भने अवकाश भइसक्नुभएको छ ।

हुनुहुन्छ । शशी–हेमबहादुरको जोडीले छुट्टा–छुट्टै थुप्रै पदक तथा सम्मान पनि प्राप्त गरेको छ । वि.स.२०२३ सालमा बेस्ट प्रिन्सिपल अवार्ड, exito international eclleence Award singapur by exito education Australia, वि.स. २०६६ सालमा शिक्षा मन्त्रालयद्वारा प्रदान गरिएको पदक, मोटीभेट न्युज डटकमद्वारा प्रदान गरिएको मोटिभेट शैक्षिक तारा सम्मान २०७४, पुनरावेदन अदालत नेपालगंजद्वारा प्रदान गरिएको भ्रस्टाचारमुक्त समाजका लागि वृहत जनचेतनामुलक सांस्कृतिक सम्मान २०७१, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रद्वारा प्रदान सम्मान र The international association of lions clubs द्वारा विभिन्न समयमा प्रदान गरिएका विभिन्न सम्मान रहेका छन् ।

उहाँहरूरूको विवाहपछिको यो सहयात्राले बिहेको सुन्दरतालाई पनि प्रष्ट्याउँछ । बिहे अतिआवश्यक हो र यसमा सहअस्तित्व आवश्यक छ भन्ने कुरा बुझ्न जरुरी छ भन्ने कुरा उहाँहरुको सहयात्राले बुझाउँछ । वर्तमान समयमा विवाहलाई गलतरुपमा रुपमा अर्थ्याइएको अवस्थामा शशी–हेमबहादुरको जोडीको सहयात्राले त्यसलाई चिर्न सहयोग गरेको छ । विवाहपछि जीवन थप सुन्दर बनाउन सकिन्छ र जीवनमा सफलताका लागि एकअर्काको सहयोग आवश्यक छ भन्ने प्रेरणा प्रदान गर्दछ ।


धेरै पढिएको