११ वर्षपछि नेपाल फर्किएका शान्तिदूत प्रेम रावतले भने, ‘शान्ति अनुभव गर्न शिक्षालेभन्दा अनुभूति र चेतनाले ठूलो भूमिका खेल्छ’

नवनारी
११ वैशाख २०८२
1,299 Views

भक्तपुर । अन्तर्राष्ट्रिय शान्तिदूत तथा विश्वप्रसिद्ध लेखक प्रेम रावतले आज भक्तपुरको सिपाडोलमा आयोजित एक विशाल सभामा हजारौँ श्रोतासमक्ष आन्तरिक आनन्दको महत्त्वबारे मन्तव्य दिए ।

रूपन्देहीको सैनामैनामा वैशाख ६ गते आयोजित कार्यक्रमपछि ११ वर्षपछि नेपाल फर्किएका रावतले दोस्रोपटक नेपाली श्रोतामाझ उपस्थित भएका हुन् । सैनामैनामा उनले एक लाखभन्दा बढी र आज भक्तपुरमा करिब ४० हजार श्रोतालाई सम्बोधन गरे ।

सभामा सम्बोधनको क्रममा रावतले भने,‘हामी सबैका लागि जन्म, अहिले लिइरहेको श्वास र अन्ततः अवश्यम्भावी बिदाइ यी तीन कुरा समान छन्’ भन्दै जीवनको दुर्लभतामाथि प्रकाश पारे ।

उनका अनुसार मानिसले सृष्टिकर्तालाई मान्नेभन्दा चिन्नु र त्यो चिनाइबाट आत्मसन्तुष्टि पाउनु महत्त्वपूर्ण हो । उनले आन्तरिक आनन्द र शान्ति अनुभव गर्न शिक्षालेभन्दा अनुभूति र चेतनाले ठूलो भूमिका खेल्ने बताए ।

कार्यक्रम आत्मज्ञान प्रचार संघले आयोजना गरेको हो । सहभागीहरूले रावतको सन्देशले जीवनभर सम्झन लायक अनुभूति दिएको प्रतिक्रिया दिएका थिए । रावत द प्रेम रावत फाउन्डेसनका संस्थापकसमेत हुन्, जसले भोजन, पानी र शान्तिजस्ता आधारभूत आवश्यकता पूरा गर्ने विभिन्न परियोजना सञ्चालन गरिरहेको छ ।

‘जनभोजन’ अभियानमार्फत भारत, नेपाल, घाना र दक्षिण अफ्रिकाका विपन्न समुदायका हजारौँलाई पौष्टिक भोजन उपलब्ध गराइँदै आएको छ । उनका अनुसार पिस एजुकेसन प्रोग्राम विश्वका १,४०० भन्दा बढी शिक्षालय र सुधारगृहमा सञ्चालित छ, जसले कैदीहरूमा पुनरावृत्त अपराध घटाएको अध्ययनले देखाएको छ ।

रावतको सन्देश हाल ११० भन्दा बढी देशमा सुन्न सकिन्छ । २०२३ मा टेलिभिजन, रेडियो र पत्रिकामार्फत उनका विचार ९१.६ करोडभन्दा बढी मानिससम्म पुगे । ‘हियर योर्सेल्फ’ जस्ता पुस्तक तथा ‘लाइफ एसेन्सियल’ नामक पोडकास्टमार्फत उनले विश्वव्यापी पाठक–श्रोतालाई आन्तरिक शान्तिको व्यावहारिक मार्ग देखाउँदै आएका छन् । युरोपियन संघ, बेलायत र न्युजिल्यान्डका संसददेखि हार्वर्ड र अक्सफोर्ड विश्वविद्यालयसम्म उनले शान्ति सम्बन्धी सन्देश प्रस्तुत गरिसक्दा, सन् २०११ मा “प्लेज टु पिस” मा हस्ताक्षर गरेर विश्व शान्तिप्रति आफ्नो प्रतिबद्धता सार्वजनिक गरेका थिए ।

लेखक, वक्ता, संगीतकार, कलाकार र आविष्कारकसमेत रहेका रावतसँग १५,००० घन्टाभन्दा बढी उडान अनुभव रहेको छ । कार्यक्रममा उनले ‘यो जीवनको आनन्द लिनुहोस्, स्वर्ग यहीँ अनुभव गर्नुहोस्’ भन्ने मूल मन्तव्य दोहोर्‍याउँदै उपस्थित श्रोतालाई जीवनभित्रै रहेको शान्ति पहिचान गर्न आह्वान गरे ।


धेरै पढिएको