देशभर सुरु भयो एचपीभी खोप अभियान

नवनारी
२२ माघ २०८१
163 Views

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क एचपीभी खोप अभियान सुरु गरेका छन् । बालुवाटारस्थित शिवपुरी उच्च मावि खोप केन्द्रमा राखिएको विशेष कार्यक्रममा प्रधानमन्त्री ओलीले उक्त क्षेत्रमा खटिएका काठमाडौं महानगरपालिका वडा नम्बर ३ का स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेर अभियान शुभारम्भ गरेका हुन् ।

खोप अभियान सुरु गर्दै प्रधानमन्त्री ओलीले कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका बालिकालाई खोप लगाउन आग्रह गरे । उनले यो अभियान सफल बनाउन पनि सबैसँग अनुरोध गरेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार आजबाट सुरु भएको खोप अभियान फागुन ५ गतेसम्म देशभर सञ्चालन हुने छ । देशभरका १९ हजार विद्यालय र ८ हजार स्वास्थ्य संस्थामा अभियान सञ्चालन गरिने छ ।

यो नेपाल सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्ध सञ्चालन गर्न लागेको सबैभन्दा ठूलो अभियान हो । देशभरका करिब १७ लाख किशोरीहरुलाई खोप लगाउने लक्ष्य लिइएको यस अभियानले एचपीभी खोपको कभरेज बढाउने र नेपालमा पाठेघरको मुखको क्यान्सरको भारलाई न्यूनीकरण गर्न उल्लेखनीय रहने मन्त्रालयले जनाएको छ । उद्घाटन कार्यक्रममा प्रधानमन्त्री सहित स्वास्थ्य मन्त्री प्रदिप पौडेल लगायत अन्य विभिन्न स्वास्थ्य क्षेत्र संग सम्बन्धीत विभिन्न क्षेत्रका व्याक्तित्वहरुको सहभागिता थियो ।


धेरै पढिएको