यूएसएडका कर्मचारीलाई बिदामा राख्ने ट्रम्पको निर्णयमा तत्कालका लागि रोक
काठमाडौं । अमेरिकी विकास एजेन्सी (यूएसएड) का कर्मचारीलाई शुक्रबारदेखि बिदामा राख्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयमा एक अमेरिकी अदालतले रोक लगाएको छ । २,२०० कर्मचारीहरूलाई बिदा राख्ने निर्णय कार्यान्वयन हुनु एक घन्टाअघि निर्णयमा अस्थायी रोक लगाइएको हो ।
न्यायाधीश कार्ल निकोल्सको यो निर्णयले युएसएआइडीका कर्मचारीलाई तत्काल राहत मिलेको छ । युएसएआइडी बचाउन भन्दै दुई युनियनले अन्तिम समयमा मुद्दा दायर गरेका थिए । ट्रम्प प्रशासनको उक्त निर्णय एक हप्ताका लागि कार्यान्वयन नगर्न आदेश गरिएको हो । ट्रम्पले विदेशी सहायता एजेन्सी युएसएआईडी करदाताको पैसाको लागि आफूले गरेको पहल अर्थपूर्ण रहेको बताएका छन् ।
उनी एजेन्सीका १०,००० कर्मचारीहरू मध्ये ६११ कर्मचारीहरूलाई छोडेर लगभग सबैलाई बिदा दिने योजनामा छन् । करिब ५०० कर्मचारीहरूलाई पहिले नै प्रशासनिक बिदामा राखिएको थियो र अर्को २,२०० कर्मचारीहरूलाई शुक्रवार मध्यरातबाट बिदामा राख्ने तयारी थियो ।
तर शुक्रवारको अन्तिम समयमा दायर मुद्दामा सरकारले संयुक्त राज्य अमेरिकाको संविधान उल्लंघन गरेको र कर्मचारीहरूलाई हानि पुगेको तर्क गरिएको थियो । न्यायाधीश निकोल्सले मुद्दा दायर गर्नेको पक्ष लिए । उनले भने, ‘अदालतले हस्तक्षेप नगरेमा उनीहरूलाई ‘अपूरणीय क्षति’ हुनेछ। जबकि सरकारलाई ‘कुनै पनि हानि हुने छैन ।’
निकोल्सका अनुसार यस मितिसम्म युएसएआइडीका सबै कर्मचारीहरूलाई प्रशासनिक बिदाबाट पुनःस्थापित गरिनेछ । उनीहरूलाई यस मितिसम्म इमेल, भुक्तानी र सुरक्षा सूचना प्रणालीहरूमा पूर्ण पहुँच दिइनेछ । उक्त मितिअघि कुनै पनि अतिरिक्त कर्मचारीलाई प्रशासनिक बिदामा नराखिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस