‘काठमाडौं पिंक केयराथन’ हुदै, झण्डै ३ हजारको सहभागिता हुने अपेक्षा
काठमाडौं । आगामी मार्च २२ (चैत्र ९ गते) ‘काठमाडौं पिंक केयराथन’ हुने भएको छ । महिलाहरूको स्वास्थ्य एवं फिटनेसमा सचेतना जगाउने उद्देश्यले लेजर पोर्ट नेपालले कार्यक्रम गर्न लागेको हो । काठमाडौ पिंक केयराथनमा महिलाहरूको दौड, जुम्बालगायतका विभिन्न कार्यक्रम आयोजना हुनेछन् । जुनसुकै उमेर समूहका महिलाहरूले सहभागिता जनाउन सक्ने यो इभेन्टको मुख्य उद्देश्य सधैं घरायसी काम र दैनिकीमा व्यस्त रहने महिलाहरूलाई आफ्नो स्वास्थ्यको लागि पनि समय निकाल्न प्रेरित गर्नु रहेको आयोजक संस्था लेजर पोर्ट नेपालका अध्यक्ष नमराज जोशीले बताए ।
आयोजकले बिहीबार राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार पिंक केयरएथनमा यसपटक २५०० देखि ३००० महिलाहरू सहभागी हुने अपेक्षा गरिएको छ । कलाकार उषा रजकलाई काठमाडौं पिंक केयराथनको गुडविल एम्बासडर घोषणा गरिएको छ । यसअघि काठमाडौं पिंकाथनको नाममा हुने गरेको यो कार्यक्रम यसपटक अझ नेपालीपन झल्किने गरी काठमाडौं पिंक केयराथन नाममा आयोजना गर्न लागिएको हो ।
लेजर पोर्टले सन् २०१७ देखि २०१९ सम्म ३ वर्ष काठमाडौं पिंकाथन आयोजना गरेको थियो । त्यसपछि कोभिड महामारी र अन्य सामाजिक तथा आर्थिक कारणले रोकिएको इभेन्ट २०२४ मा आयोजना भएको थियो । यस वर्ष पनि भव्य रूपले कार्यक्रम हुने आयोजक संस्थाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस