नेपालमा अनलाईनबाट हुने दुर्व्यवहारका घटना बढ्दै, डिजिटल शिक्षाको आवश्यकतामा जोड

नवनारी
१ फागुन २०८१
588 Views

काठमाडौँ । विद्युतको पहुँच तथा इन्टरनेटको विकास संगै नेपालमा अनलाईनबाट हुने दुर्व्यवहारजन्य अपराधका घटनाहरु बढ्दै गएका छन् । इन्टरनेटको तिव्र विकास संगै सामाजिक संजालका विभिन्न प्लेटफम मार्फत हुने यस्ता घटनाहरुको न्यूनिकरणको लागि डिजिटल शिक्षा आजको आवश्यकता रहेको सरोकारवाला तथा सञ्चारकर्मीहरुले बताएका छन् ।

सुरक्षित इन्टरनेट दिवस २०२५ को सन्दर्भमा ‘अनलाईन दुर्व्यवहारबाट प्रभावित बालबालिका र महिलाको अवस्था तथा सुरक्षित इन्टरनेटका लागि सञ्चारकर्मीको भूमिका’ बिषयक अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले यस्तो बताएका हुन् । भ्वाईस अफ चिल्ड्रेन र आइवर्ट नेपालको संयुक्त आयोजना भएको कार्यक्रममा अनलाईनबाट हुने दुर्व्यवहारका घटनाहरुको तथ्याङ्क अध्ययन, रोकथाम तथा न्यूनिकरणका उपाएको बिषयमा समेत छलफल गरिएको थियो । कार्यक्रममा महिला आयोगकी अध्यक्ष कमला पराजुलीले महिला संग संगै बालबालिका पनि अनलाईन दुर्व्यवहारबाट प्रभावित भइरहेको बताउँदै त्यसलाई न्यूनिकरण गर्न एकजुट हुनुपर्नेमा जोड दिइन् । यस्तै नेपाल पत्रकार महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्माले अनलाईन मार्फत हुने यस्ता खालका दुर्व्यवहार जन्य घटनाहरुको न्यूनिकरणको लागि सरकारी क्षेत्र संग संगै प्रत्येक व्याक्ति, अभिभावकहरु पनि सचेत हुनुपर्ने जोड दिइन् । कार्यक्रममा अन्य सहभागिहरुले पनि डिजिटल शिक्षाको बारेमा सबैलाई जानकारी हुनुपर्नेमा जोड दिएका थिए ।

दुर्व्यवहारका घटना बढ्दै
नेपाल प्रहरीको साईबर व्यूरोको तथ्याङ्क अनुसार आर्थिक बर्ष २०८०/०८१ मा ६३५ जना बालबालिका साइबर अपराधमा परेको भनि उजुरी दर्ता गराएका छन् । जसमा २५३ बालक रहेका छन् भने ३८२ बालिका रहेका छन् । यस्तै १८ बर्ष भन्दा माथिका महिलाहरुको ८ हजार ७ सय ४५ जना रहेका छन् । नेपालमा भएका ८१ प्रतिशत भन्दा बढि अनलाईनका घटनाहरु फेसबुकमार्फत हुने गरेको तथ्याङ्कले देखाएका छ ।

भ्वाईस अफ चिल्ड्रेन र केएनएच जर्मनीले ५१४ जना बालबालिका, परिवार तथा बालसंरक्षण र बालन्यायसंग सम्बन्धित सरोकारवाला संग गरेको अध्ययन अनुसार १३ बर्ष देखि १८ बर्ष उमेर समूहका (५५ प्रतिशत बालिका र ४५ प्रतिशत बालन) मध्य ९७ प्रतिशत ईन्टरनेटको पहुँचमा छन् । जसमा बालिकाहरु मध्य ३८.६० प्रतिशत ले यौनजन्य सन्देशहरु, ३४ प्रतिशतले अश्लील फोटाहरु, १३.६० प्रतिशतले अश्लील लिङ्क र भिडियोहरु आएको तथा ६.८० प्रतिशतले अनलाईनबाट अन्य दुव्र्यवहार र शोषणमा परेको बताएका छन् ।

बालकहरुमा ३२.३० प्रतिशतले यौनजन्य सन्देशहरु, २९.२० प्रतिशतले अश्लील फोटाहरु, १५.४० प्रतिशतले अश्लील लिङ्क र भिडियोहरु आएको तथा ६.२० प्रतिशतले अनलाईनबाट अन्य दुर्व्यवहार र शोषणमा परेको बताएका छन् । अध्ययनमा सहभागी अभिभावकहरु मध्ये ९९ प्रतिशतले आफुहरु ईन्टरनेटको सुविधा भएको, अनलाईन बालयौन दुर्व्यवहारबारे जानकारी भएपनि कानूनी प्रावधानहरु, उजुरी प्रक्रिया, ईन्टरनेट सेवा प्रदायकहरुको भूमिका, डिजिटल साक्षरता, अभिभावकीय शिक्षा जस्ता बिषयहरुमा जानकारी नै नभएको बताएको पाइएको छ ।

इन्टरनेटको सुरक्षित प्रयोगको लागि राज्यको नीति नियम निर्माण र त्यसको प्रभावकारी कार्यान्वयन गर्न जति आवश्यक रहेको भ्वाईस अफ चिल्ड्रेनका कार्यकारी निर्देशक कृष्ण कुमार थापाले बताएका छन् । साथै सरोकारवाला संघसंस्थाहरुले आ–आफ्नो तर्फबाट सहकार्य गरी बालबालिका तथा महिलाहरुको लागि सुरक्षित समाज निर्माणमा सहकार्य गर्नु आजको आवश्यकता भएकोमा जोड दिए ।


धेरै पढिएको