परराष्ट्रमन्त्री राणा र जापानी विदेश राज्यमन्त्री मियाजी बिच भेटवार्ता

नवनारी
५ फागुन २०८१
232 Views

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा र जापानका विदेश राज्यमन्त्री मियाजी ताकुमा बिच शिष्टाचार भेटवार्ता भएको छ । आठौं हिन्द महासागर सम्मेलनमा सहभागिताका लागि ओमनको राजधानी मस्कटमा रहेका परराष्ट्रमन्त्री राणा र जापानी राज्यमन्त्री ताकुमाबीच सोमबार भेटवार्ता भएको हो ।

सो भेटका क्रममा नेपाल जापान सम्बन्धका विविध पक्षहरूका साथै दुई देशबीचको आपसी सम्बन्ध र साझा चासोका विषयमा कुराकानी भएको थियो । त्यस अवसरमा मन्त्री राणाले नेपालको एक प्रमुख दाता राष्ट्रका रूपमा जापानले लामो समयदेखि नेपालको आर्थिक सामाजिक विकासका क्षेत्रमा पुर्याउँदै आएको सहयोगप्रति मन्त्री ताकुमामार्फत् जापान सरकारलाई आभार व्यक्त गरेका थिए ।

भेटका क्रममा नेपाल र जापानले आगामी वर्ष सन् २०२६ मा दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० औं वार्षिकोत्सव मनाउन लागेका विषयमा कुराकानी भएको थियो । त्यस अवसरमा नेपाल र जापानका तर्फबाट उच्चस्तरीय भ्रमण आदानप्रदान गर्नुपर्ने विषयमा पनि कुराकानी भएको थियो ।

त्यस अवसरमा नेपाल र जापानले गत वर्षमात्र सीपयुक्त जनशक्तिका विषयमा आगामी पाँच वर्षसम्मका लागि सम्झौता गरेको र यससम्बन्धी कार्यविधि नेपाल सरकारले पास गरिसकेकाले जापान सरकारको आवश्यक सहयोगबारे कुराकानी भएको थियो । साथै मन्त्री देउवाले नेपालमा गत सेप्टेम्बरमा आएको भीषण बाढीका कारण बिपी राजमार्गमा ठूलो क्षति पुगेकाले त्यसको पुनर्निर्माणका क्षेत्रमा आवश्यक सहयोगका लागि जापान सरकारसँग आग्रह गरेकी थिइन् ।


धेरै पढिएको