नेपाली विद्यार्थीको अवस्था बुझ्न कलिंङ्गा इन्स्टिच्युटमा नेपाल प्रहरी पुगिसकेको छ – परराष्ट्रमन्त्री राणा
काठमाडौं । परराष्ट्र मन्त्री आरजु राणा देउवाले भारतको ओडिसास्थित कलिंग इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा नेपाली विद्यार्थीको अवस्था बुझ्न नेपाल प्रहरी पुगिसकेको बताएकी छन् ।
परराष्ट्र मन्त्री राणाका अनुसार भारतस्थित नेपाली राजदूतावासबाट दुई जना प्रहरी मंगलबार बिहान किटमा पुगिसकेका छन् । ती प्रहरीहरूसँग आफूले कुराकानी गरेको र घटनाको आवश्यक अनुसन्धानका लागि भारतीय सुरक्षाकर्मीसँग समन्वय गर्न भनेको परराष्ट्र मन्त्रीको भनाइ छ ।
किटमा पढ्ने नेपालकी प्रकृति लम्सालको गत आइतबार मृत्यु भएको थियो । यसपछि भएका घटनाक्रमबारे परराष्ट्र मन्त्रालयले निरन्तर रूपमा फलोअप गरिरहेको पनि उनले उल्लेख गरेकी छन् । ‘नेपाली विद्यार्थीको अवस्था बुझ्न र त्यहाँ रहेका नेपाली विद्यार्थीलाई कलेजमा सुरक्षाको वातावरण मिलाउने सन्दर्भमा नेपाली राजदूतावास नयाँ दिल्लीबाट नेपाल प्रहरीका दुई जना वरिष्ठ अधिकारी मंगलबार बिहानै विश्वविद्यालय पुग्नुभएको छ,’ परराष्ट्र मन्त्री राणाको भनाइ छ ।
यस अघि किट विश्वविद्यालयको होस्टेलमा नेपाली विद्यार्थी प्रकृति लम्साल मृत भेटिएको घटनाबारे अनुसन्धान गर्न माग गरेपछि विश्वविद्यालयले सूचना नै जारी गरेर नेपाली विद्यार्थीहरूलाई निष्कासन गरेको थियो । त्यसपछि अवस्था तनावग्रस्त बन्दै गएको हो ।

प्रतिक्रिया दिनुहोस