डा. शेखर कोइरालाले भेटे प्रकृति लम्सालको परिवारसँग
काठमाडौ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्यूट अफ इण्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा मृत फेला परेकी प्रकृति लम्सालका परिवारसँग भेट गरेका छन् । शनिबार रुपन्देही भैरहवास्थित लम्साल परिवारको घरमा पुगेका शेखरले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई हदैसम्मको कारबाहीको लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराइसकिएको बताएका हुन् ।
कोइरालाले प्रकृतिको बुवा, आमा, हजुरबुबा र भाइलाई भेटेर नेपाल सरकार र कांग्रेस पार्टीले यस घट्नालाई अत्यन्तै गम्भीर रुपमा लिएको बताए ।
भेटमा उक्त कलेजमा अध्ययनरत सम्पूर्ण नेपाली विधार्थीलाई सहजता पूर्वक होस्टेलमा फर्कने, बस्ने वातावरण र अध्ययनको लागि आवश्यक पहल भइरहेको कोइरालाले सुनाए ।
लम्सालको परिवारलाई भेट्न कोइराला सहमहामन्त्री जीवन परियार, संघीय सांसद सुरेन्द्र आचार्य, लुम्बिनी प्रदेशका पर्यटन मन्त्री प्रचण्डविक्रम न्यौपाने, कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री विक्रम खनाललाई साथमा लिएर पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस