बालबालिकालाई पिसाब संक्रमण हुन नदिन के गर्ने ?

नवनारी
२३ फागुन २०८१
298 Views

बालबालिकालाई ज्वरो आउने बित्तिकै क्लिनिकमा गएर औषधि खुवाउनु हुँदैन । किनभने, ज्वरोको एउटा कारण पिसाब संक्रमण पनि हुन सक्छ भन्ने कुरामा अविभावकले हेक्का राख्नु जरुरी छ । चिकित्सकको सल्लाहअनुसार पिसाबको जाँच गराउनुपर्छ । जाँचमा संक्रमण देखिएको अवस्थामा रोगअनुसार औषधि र उपचार सुरु गर्न सकिन्छ ।

एक पटक पिसाब संक्रमण भइसकेका बालबालिकालाई पुनः संक्रमण हुने जोखिम ३० प्रतिशतले बढेको हुन्छ । त्यसैले पुनः संक्रमण हुन नदिन प्रशस्त पानी पिउने, पिसाब नरोक्ने, कब्जियत हुन नदिने, सन्तुलित खाना दिने, पिसाब फेरिसकेपछि योनीलाई राम्रोसँग सफा गर्ने, दैनिक भित्री वस्त्र परिवर्तन गर्नुपर्छ । सकेसम्म भित्री वस्त्र प्रयोग गर्दा कटनको कपडा प्रयोग गर्नु उपयुक्त हुन्छ ।

बालबालिकाको दिसा सफा गर्दा धेरै अविभावकले गल्ती गरिरहेका हुन्छन् । अधिकांश अविभावकले पछाडिबाट अगाडि दिसा सफा गर्छन् । यसो गर्दा दिसाहरू पिसाब फेर्ने भागमा जान्छ र संक्रमण हुने सम्भावना बढ्छ। त्यसैले अगाडिबाट पछाडितर्फ दिसा सफा गर्नु उपयुक्त हुन्छ । बालकहरूको पनि पिसाब फेरिसकेपछि लिंगको छाला माथि तानेर सफा गर्नु उत्तम विकल्प हो ।

पिसाबको जाँच गर्ने क्रममा स्वास्थ्यकर्मी पनि उत्तिकै चनाखो हुनु जरुरी छ । पिसाबको जाँच गर्दा नमुना संकलनका लागि ध्यान पुर्‍याउनु आवश्यक छ । साबुन पानीले एक पटक पिसाब फेर्ने भाग सफा गर्नुपर्छ । ट्वाइलेट ट्रेन बच्चा भए एकपटक पिसाब फेरेपछि बीचको पिसाब संकलन गर्नु आवश्यक छ । संकलन गरिएको पिसाब एक घण्टाभित्र प्रयोगशालामा पुर्‍याउनुपर्छ । संकलन गरिएको पिसाब समयमै प्रयोगशालामा पुर्‍याउन सकिएन भने किटाणुको विकास हुन सक्छ । बालबालिकामा लगातार पिसाबको संक्रमण भइरहे बाल मिर्गौला रोग सम्बन्धी विशेषज्ञलाई देखाउनु उपयुक्त हुन्छ । बिरामीको अवस्थाअनुसार विशेषज्ञले दिएको सुझावका आधारमा उपचार सुरु गरे पिसाब संक्रमण रोक्न सकिन्छ । एजेन्सी ।


धेरै पढिएको