मिलन नेवारलाई भारतमा ‘स्वर कोकिला लता मंगेशकर सम्मान’

नवनारी
२६ फागुन २०८१
350 Views

मुम्बई । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा भारतको ग्रेटर नोएडामा आयोजना गरिएको ‘राष्ट्र शक्ति शिखर सम्मेलन’मा नेपालकी प्रतिभाशाली गायिका मिलन नेवार लाई ‘स्वर कोकिला लता मंगेशकर सम्मान २०२५’ले सम्मानित गरिएको छ । संगीत क्षेत्रमा उनले नेपाल र भारतमा पुर्‍याएको उत्कृष्ट योगदानको लागि यो सम्मान प्रदान गरिएको हो ।

सम्पर्क क्रान्ति परिवार द्वारा आयोजित यस भव्य कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिष्ठित महिलाहरूलाई ‘राष्ट्र शक्ति शिरोमणि सम्मान’, ‘राष्ट्र तेजस्विनी सम्मान’, ‘राष्ट्र यशस्विनी सम्मान’ लगायत अन्य प्रतिष्ठित सम्मानहरू प्रदान गरियो । कार्यक्रममा महिला सशक्तीकरण, शिक्षा, स्वास्थ्य, सुरक्षा र स्वावलम्बन जस्ता विषयहरूमा गम्भीर छलफल समेत भएको थियो ।

नेपालबाट सम्मान ग्रहण गर्न उपस्थित मिलन नेवारले आफ्नो सम्मानलाई नेपाली संगीत र संस्कृतिको प्रतिनिधित्व गर्ने अवसरको रूपमा लिएकी छिन् । उनले यो सम्मान आफ्नो लागि मात्र नभएर सम्पूर्ण नेपाल देशकै लागि भएको महसुस गरेको बताउँदै सबै नेपाली र नेपाली संगीत क्षेत्रका महिलाहरूको सम्मान भएको हिसाबमा आफूले लिएको भन्दै धन्यवाद दिइन् । उनले यो सम्मानले नेपाली महिलाहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा पहिचान दिलाउने काम गरेकोमा खुसी व्यक्त गरिन्। साथै, यो सम्मान आफ्नो सांगीतिक जीवनको एउटा महत्त्वपूर्ण उपलब्धि भएकोमा गर्व लागेको बताइन् ।


धेरै पढिएको