विश्वका ७ वटा देशले मात्र पुरा गरे डब्लुएचओको वायु गुणस्तर मापदण्ड
काठमाडौं – स्विस वायु गुणस्तर अनुगमन संस्था आइ.क्यु एअर द्वारा गरिएको पछिल्लो विश्लेषण अनुसार सन् २०२४ मा विश्वका जम्मा सात मात्र देशले विश्व स्वास्थ्य संगठनको वायु गुणस्तर मापदण्ड पूरा गरेका छन् । डब्लुएचओको मापदण्ड पूरा गर्ने देशहरूमा अष्ट्रेलिया, न्यूजिल्याण्ड,बहामास, बार्बेडोस, ग्रेनाडा, अस्टोनिया र आइसल्यान्ड रहेका छन् । यी देशहरूले वार्षिक औसत पि।एम २.५ स्तर ५ माइक्रोग्राम प्रति घन मिटर वा सोभन्दा कम कायम राख्न सफल भएका छन् ।
आइ.क्यु एअरको रिपोर्टअनुसार निम्न देशहरूमा सबैभन्दा उच्च वायु प्रदूषण देखिएको छ । जसमा चाड – ९१.८ माइक्रोग्राम प्रति घन मिटरऽ बंगलादेश – ७८.० माइक्रोग्राम प्रति घन मिटर, पाकिस्तान – ७३.७ माइक्रोग्राम प्रति घन मिटर, कङ्गो लोकतान्त्रिक गणतन्त्र, ५८.२ माइक्रोग्राम प्रति घन मिटर र भारत – ५०.६ माइक्रोग्राम प्रति घन मिटर रहेकाे छ ।
वायु प्रदूषण र स्वास्थ्य जोखिम
दीर्घकालीन रूपमा पि.एम २.५ को उच्च स्तरमा रहेको वायुको प्रभावले गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्छ, जसमा श्वासप्रश्वास तथा मुटु सम्बन्धी रोगहरू पर्दछन् । विश्व स्वास्थ्य संगठनको अनुसार, हरेक वर्ष लाखौँ मानिसको असमयिक मृत्यु वायु प्रदूषणका कारण हुने गर्दछ, जसले गर्दा यस समस्यालाई सम्बोधन गर्न तत्काल विश्वव्यापी कदम चाल्नु आवश्यक छ ।
आइ.क्यु एअरका विश्वव्यापी सी.ई.ओ फ्राङ्क हाम्स भन्छन्, ‘वायु प्रदूषण मानव स्वास्थ्य र वातावरणीय स्थिरताका लागि गम्भीर खतरा बनेको छ, तर अझै पनि विश्वका धेरै मानिसहरू आफू सास फेर्ने वायुको गुणस्तरबारे बेखबर छन् ।’ उनले वायु गुणस्तरको निरन्तर निगरानी, जनचेतना अभिवृद्धि, र प्रभावकारी सार्वजनिक स्वास्थ्य नीति अवलम्बन गर्ने आवश्यकतामा जोड दिएका छन् । जसले प्रदूषणको नकारात्मक प्रभावलाई न्यूनीकरण गर्न मद्दत गर्नेछ ।

प्रतिक्रिया दिनुहोस