गर्मीबाट बालबालिकालाई कसरी जोगाउने ?

नवनारी
४ चैत २०८१
166 Views

काठमाडौँ । गर्मी बढ्दो क्रममा छ । विस्तारै बढ्दै गरेको गर्मीले सबैलाई असर गरेको हुन्छ । अझ बालबालिका तथा नवजात शिशुलाई त गर्मीले झनै असर पारिरहेको हुन्छ । गर्मीमा बालबालिकाहरु एकै ठाँउमा राख्दा गर्मीले झनै समस्या पार्ने, संक्रमण फैलिने डर त छँदैछ, अर्कोतिर कतिपय विद्यालयका भौतिक संरचना समेत विद्यार्थीमैत्री नहुँदा झन् ठूलो स्वास्थ्य समस्या ल्याउन सक्ने खतरा छ ।

शरीरको पानी पसिनाबाट जाँदा आलस्य हुने, हिंड्न मन नलाग्ने, निद्रा बढी लाग्ने समस्या गर्मीको समयमा देखिन्छ । यसैगरी बान्ता हुने, बोलेको थाहा नहुने, काम्ने, बर्बराउने, बेहोस हुनेसम्मका समस्या बालबालिकामा गर्मीका कारण हुने गर्छ । गर्मीमा छालाको समस्या, सन वर्न, सुख्खा हुने, लुगा कम लगाउँदा वा जता पनि जाँदा बालबालिकालाई कीरा फट्यांग्राले टोक्ने, एलर्जी हुनेजस्ता समस्या हुन सक्छन् । यसतर्फ पनि विषेश ध्यान दिनुपर्छ ।

गर्मीमा बालबालिका कसरी सुरक्षित गर्ने ?

–बालबालिकालाई प्रशस्त पानी खुवाउन अभिभावकहरुले नै जोड गर्नुपर्छ ।

–कम्तीमा दैनिक पाँच–सात पटक पिसाब गरे नगरेको ख्याल गर्ने, पिसाब कम गरेको वा गाढा पहेंलो गरेमा पानीको मात्रा नपुगेको बुझ्नुपर्छ ।

–गर्मी मौसममा खाना चाँडै बिग्रिने भएकाले बिहानको बेलुका वा बेलुकाको खाना बिहान सकभर नखानु राम्रो हुन्छ ।

– बच्चालाई बढी जाडो हुन्छ भनेर कपडा धेरै लगाइदिने र सेक्ने चलन पनि छ । गर्मीमा यस्तो कार्य गर्नुहुँदैन ।

–चिसो कपडाले बच्चाको शरीर बेलाबेलामा पुछ्ने गर्नुपर्छ ।

–अलि ठूला बालबालिकालाई प्रशस्त पानी वा फलफूलको जुस खुवाउनुपर्छ ।

–बेलाबेलामा जीवनजल पनि खुवाउन सकिन्छ ।

–गर्मीमा नुनको मात्रासमेत पसिनाबाट जाने भएकाले नुनको मात्रालाई सन्तुलनमा राख्न यो जरुरी छ ।

–घाममा सकभर नजाने, जानै परे क्याप लगाउने, छाता ओढेर पानीको बोतल आफूसँग राख्ने, साँझ र बिहान मात्रै बालबालिकालाई आफैंसँग राखेर डुलाउने गर्नुपर्छ ।


धेरै पढिएको