गर्मीमा कस्तो खानेकुरा खाने, कुन कुन कुरामा ध्यान दिने ?

नवनारी
६ चैत २०८१
241 Views

काठमाडौँ । गर्मी बढ्न थालेपछि विभिन्न खालका समस्याहरु शरिरमा आउनु स्वभाविक हो । हाम्रो शरिरबाट पसिना बढी जाने हुँदा गर्मीमा डिहाइडेसन लगायतका विभिन्न खाले समस्या हुन थाल्छन् । काम गरि खानु पर्ने मान्छेले गर्मीको व्यवस्था गर्दै काम गर्नु पर्ने हुन्छ । शरिरमा पानीको कमीले धेरै संक्रमण तथा स्वास्थ्य समस्या हुन्छन् । डिहाइड्रेसनको खतरा गर्मी याममा निकै बढि हुने भएकाले आफ्नो खानपिनको आदतमा विशेष ध्यान दिन र जिउको रोगप्रतिरोधी क्षमता बढाइराख्न विशेषज्ञहरुले सल्लाह दिने गरेका छन् ।

पोषण विज्ञहरुका अनुसार गर्मीमा मानव शरीरबाट अत्यधिक पसिना निस्कने कारण इलेक्ट्रोलाइट असन्तुलित बन्दछ । त्यसकारण नियमित खानाको अलावा फलफूल तथा सागसब्जी र प्रसस्त सलाद लिनु जरुरी हुन्छ । गर्मी याममा सरीरमा पानीको पर्याप्त आपूर्तिका लागि प्रसस्त पानीको मात्रा हुने सागसब्जी तथा तरकारीहरु जस्तै फर्सी, करेला, लौका, पालुंगो, हरियो सिमीको भोजन गर्नुपर्छ ।

कामकाजी मानिसहरुका लागि रोगप्रतिरोधी क्षमता उच्च राख्न गर्मी याममा खाजाको रुपमा पनि दुध, फलफुल, जुस, टुसा उमारेको गेडागुडी लगायतका परिकार समावेश हुनु आवश्यक हुन्छ । त्यसका साथै बिहानको खानामा दालभात समावेश गर्नु राम्रो हुन्छ । बेलुकीको खानामा फाइबरयुक्त सागसब्जी, बन्दा तथा काउली र रोटीको सेवन गर्नु स्वस्थकर हुने र जिउले पचाउन सजिलो हुने बताइन्छ ।

गर्मी याममा डिहाइड्रेसनबाट बच्नका लागि ग्रीन टी अर्थात् कोल्ड कफीको सेवन निकै लाभदायी हुन्छ । गर्मीको समयमा पाचन प्रणालीमा समेत समस्या आउने भएकाले हल्का खाना खानुपर्छ नत्र अपच हुने जोखिम हुन्छ । लामो समयको अन्तरालमा धेरै खानेकुरा खानुभन्दा छिटो छिटो तर थोरै थोरै खानेकुरा खाएमा पचाउन सजिलो हुन्छ । त्यस्तै तरभुजा, खरभुजा, कांक्रो, लिची, स्याउ जस्ता मौसमी फलफुल खानुपर्छ, जसले सरीरमा पानीको पर्याप्त आपूर्ति गर्नुका साथै रोग प्रतिरोधी क्षमता पनि बढाउँछ । बजारमा पाइने चिसो पेय पदार्थको साटो दही, उखुको रस, नरिवल पानी तथा लस्सी पिउनु आवश्यक हुन्छ ।

अपच भएको अर्थात् पेटमा गडबडी भएको महसुस हुने बित्तिकै कागती पानी वा पुदिना पानी पिउनुपर्छ । पानी पर्याप्त मात्रामा पिउनुपर्छ, कम्तिमा पनि दिनको ३–४ लिटर । तेलमा तारेका, भुटेका खानेकुराहरु नखानु नै राम्रो हुन्छ । खानेकुरा पकाएर लामो समयसम्म नराख्नुहोस्, छिटै खानुहोस् । बासी खानेकुरा खाँदा रोगको संक्रमण हुने जोखिम हुन्छ । गर्मीमा चिया तथा तातो कफीले पनि फाइदा गर्दैन । बढि चिल्लो तथा नुनयुक्त ड्राइफुड्स तथा जंक फुडहरुको सेवन नगर्नु राम्रो हुन्छ । जाँडरक्सी तथा धुम्रपानको सेवन गर्मीयाममा अझ बढि हानिकारक मानिन्छ ।


धेरै पढिएको