विपन्न बालबालिकाको शहीद गंगालालमा निःशुल्क उपचार गर्ने निर्णय

नवनारी
१३ चैत २०८१
185 Views

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमार्फत १५ वर्षमुनिका विपन्न परिवारका बालबालिकाको मुटु उपचार निःशुल्क गर्ने निर्णय गरेका छन् ।

सञ्चालक समिति अध्यक्ष समेत रहेका मन्त्री पौडेलले बैठक मार्फत आर्थिक अभावमा कुनै पनि बालबालिकाको उपचार नरोकिने गरी व्यवस्था गर्ने निर्णय गरेको कार्यकारी निर्देशक रवि मल्लले जानकारी दिए । ‘आर्थिक अभावमा कोही बालबालिकाको उपचार नरोकियोस् भनेपछि आन्तरिक र अन्य स्रोतबाट उपचार गराउने निर्णय गरेका हौँ,’ कार्यकारी निर्देशक मल्लले भने ।

हाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केन्द्रलाई ५ सय बालबालिकाको शल्यक्रियासहितको मुटु उपचारका लागि प्रतिबालबालिका २ लाख ५० हजार सहायता दिँदै आएको छ । उपचार लिनेको संख्या बढिरहँदा केन्द्रले त्यसमा आन्तरिक स्रोतसमेत थप गरेर आर्थिक अभावको समस्या भोगेका बालबालिकाको शल्यक्रियासहितका सेवा उपलब्ध गराउने निर्णय गरेको हो ।

यस वर्षको वर्ष पुस महिनासम्म ४ सय ८० बालबालिकाले गंगालालबाट शल्यक्रियासहितको उपचार सेवा निःशुल्क प्राप्त गरेका छन् । ‘आर्थिक अभावमा कोही पनि बालबालिका मुटु उपचारबाट वञ्चित नहोऊन् भन्ने हाम्रो चाहना हो,’ मन्त्री पौडेलले भने, ‘यसका लागि थप स्रोतको खोजीसमेत गरिनेछ ।’

सञ्चालक समिति बैठकले बाल मुटु उपचारका लागि थप स्रोतको खोजी गर्न स्थानीय तहहरूसँग समेत सम्झौता गर्ने निर्णय गर्दै त्यसका लागि सदस्य सापकोटालाई जिम्मेवारीसमेत तोकेको छ । ‘स्थानीय तहहरूसँगको सहकार्यमा बाल मुटु उपचार थप पहुँचयुक्त र प्रभावकारी बनाउन सकिन्छ भन्ने हाम्रो विश्वास छ,’ सञ्चालक समिति सदस्य सापकोटाले भने, ‘सहकार्य गर्ने गरी गृहकार्य सुरु गरेका छौँ ।’


धेरै पढिएको