थाइल्याण्डकी प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो

नवनारी
२० चैत २०८१
238 Views

काठमाडौं । प्रधानमन्त्री ओलीले थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान शिनावात्लाई नेपाल भ्रमणको निमन्त्रणा दिएको र छिट्टै नेपालको भ्रमण हुने विश्वास पनि व्यक्त गरेका छन् । ओलीले आफ्नो औपचारिक भ्रमणबाट नेपाल र थाइल्याण्डबीचको आपसी सम्बन्ध नयाँ उचाइमा पुगेको बताएका समेत छन् ।

थाइल्याण्डको औपचारिक भ्रमणका क्रममा बैङ्ककमा रहेका प्रधानमन्त्री ओलीले थाइल्याण्डकी प्रधानमन्त्री शिनावात्सँगको भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले भ्रमणबाट दुई मुलुकबीच संस्कृति, पर्यटन, शिक्षा, ऊर्जालगायतका क्षेत्रमा सहकार्य अभिवृद्धि हुने विश्वास व्यक्त गरे ।

उनले नेपाल र थाइल्याण्डबीच ६५ वर्षदेखि रहेको कूटनीतिक सम्बन्ध र जनता–जनताबीचको सम्बन्धलाई अझ विस्तार गर्ने विषयमा आफूहरूबीच छलफल भएको बताए । प्रधानमन्त्री ओलीले नेपालमा होटल व्यवसाय तथा हवाई सेवाजस्ता पर्यटन क्षेत्रमा थाइल्याण्डको लगानी र व्यापारका विषयले आगामी दिनमा प्राथमिकता पाउने विश्वास व्यक्त गरे ।

“नेपाल र थाइल्याण्डबीच कृषि, व्यापार, पर्यटन, संस्कृतिको गहिरो सम्बन्ध कायम रहेको छ । थाइल्याण्डका लगानीकर्तालाई नेपालमा लगानीका लागि म आह्वान गर्दछु ।”, प्रधानमन्त्री ओलीले भने, “नेपाल र थाइल्याण्डबीचमा व्यापार र पर्यटनको सम्बन्ध राम्रो रहेको छ । अब हामी अन्तर्राष्ट्रिय मुद्दाका साथै जलवायु परिवर्तनका बारेमा हातेमालो गरेर काम गर्नेछौँ ।”


धेरै पढिएको