दुई बर्ष पछि काठमाडौँमा नेपथ्यको कन्सर्टः दर्शकको उत्साहजनक सहभागिता

नवनारी
३१ चैत २०८१
183 Views

काठमाडौं । अस्ट्रेलियाका विभिन्न शहरमा शृंखलाबद्ध सांगीतिक प्रस्तुति दिएर फर्किएको नेपथ्य ब्यान्ड काठमाडौंमा गुञ्जिएको छ । शनिबार साँझ काठमाडौंको गोकर्णेश्वरमा नेपथ्यको कन्सर्ट प्रत्यक्ष हेर्न र सुन्न हजारौं दर्शकहरूको उपस्थिति रह्यो ।

नेपथ्य काठमाडौंमा २ वर्षपछि गुञ्जिएको थियो । यसअघि २०७९ सालमा नेपथ्यले भृकुटीमण्डमा प्रस्तुति दिएको थियो । गोकर्णेश्वरस्थित हनुमानचोकनजिकै खुला मैदानमा भएको कन्सर्टमा नेपथ्यले आफ्ना सर्वकालिन हिट गीतमार्फत दर्शकहरूलाई झुमायो ।

ब्यान्डका मुख्य गायक एवं अगुवा अमृत गुरूङले दर्शकलाई सम्बोधन गर्दै एकपछि अर्को गीत प्रस्तुत गरेका थिए । यो कन्सर्टमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरूङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा रहेका दिनेशराज रेग्मीले सघाएका थिए । कार्यक्रमकै बीचमा अमृतले उनीहरूलाई दर्शकमाझ परिचित गराएका थिए ।

अन्तिमतिर क्रमशः ‘रेशम’ र ‘तालको पानी’ ‘रातो र चन्द्रसूर्य’ प्रस्तुतिपछि कार्यक्रम बिट मारिएको थियो । यो कन्सर्टलाई स्थानीय तन्नेरीहरूको समूह ‘ग्राउन्ड अफ इभेन्ट्स’ ले आयोजना गरेको थियो । सह–आयोजकमा औद्योगिक शान्ति नेपाल संस्था थियो ।


धेरै पढिएको