आन्दोलनरत शिक्षकका माग सम्बोधन हुनेगरी छिट्टै विधेयक जारी हुन्छ – मन्त्री भट्टराई

नवनारी
३ वैशाख २०८२
174 Views

काठमाडौं । शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले आन्दोलनरत शिक्षकहरूका माग सम्बोधन हुनेगरी चाँडै शिक्षा विधेयक जारी हुने बताएकी छन् । उनले शिक्षकहरूसँग निरन्तर सम्वादमा रहेको समेत बताइन् । शिक्षामन्त्रीले एक भिडियो सन्देश जारी गर्दै भनेकी छन्,‘करिब १५ दिनदेखि शिक्षकहरू सडकमा आन्दोलन गर्दै हुनुहुन्छ,हिजो मात्रै बसेको मन्त्रिपरिषद् बैठकले शिक्षकको माग सम्बोधन गर्नेगरी छिटो शिक्षा विधेयक जारी गर्न संसद्को अधिवेशन यही वैशाख १२ गते आह्वान गर्ने निर्णय गरेको छ, शिक्षा मन्त्रालय शिक्षकसँग निरन्तर संवादमा छ, मन्त्रालयको तर्फबाट सहजीकरण समिति निर्माण गरेर उहाँहरूसँग संवाद गर्नका लागि वातावरण बनोस् भनेर त्यही कार्यमा छौँ ।’

देशभरका शिक्षक/कर्मचारीहरू चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएका छन् । हिजो बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसद्को अधिवेशन यही वैशाख १२ गते आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गर्दै शिक्षकहरूलाई विद्यालयमा फर्कन आग्रह गरेको थियो । तर,शिक्षकहरूले आज पनि आन्दोलन कायमै राखेका छन् ।

माग पुरा नहुञ्जेल आन्दोलनबाट पछि नहट्ने आन्दोलनरत शिक्षकहरुले बताएका छन् । आन्दोनलाई थप शसक्त बनाउनको लागि ठाउँ ठाउँबाट काठमाडौँ आएर सहभागि हुन शिक्षक महासंघले सम्पूर्ण शिक्षकहरुलाई आग्रह समेत गरेको छ ।


धेरै पढिएको