आज र भोली देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

नवनारी
६ वैशाख २०८२
207 Views

काठमाडौं । देशभरका २२ लाख बालबालिकालाई आजबाट भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ । ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लागेको हो । खोप अभियान भोली (आईतबार) सम्म चल्ने बताइएको छ ।

बालबालिकामा कुपोषण अझै पनि ठूलो समस्याका रूपमा छ । बालबालिकाको शारीरिक, बौद्धिक, मानसिक विकासमा पनि यसले प्रभाव पार्ने हुन्छ । बाल्यावस्थामा पोषणको अवस्था राम्रो भएन भने दीर्घकालीन असरहरू देखा पर्ने भएकाले भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने गरिन्छ ।

पाँच वर्षमुनिका बालबालबलिकालाई वर्षको दुई पटक वैशाख र कात्तिकमा जुकाको औषधि र भिटामिन ‘ए’ खुवाउने गरिएको छ । भिटामिन ‘ए’ र जुकाको औषधि खुवाएसँगै बालबालिकाको स्वास्थ्य पोषण पनि परीक्षण समेत गरिन्छ । स्वास्थ्य सेवा विभागका अनुसार यस पटक ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’अन्तर्गत छ महिनादेखि ५९ महिनाका करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइँदै छ ।

सोही दिन एक वर्षदेखि पाँच वर्षसम्मका करिब १९ लाख बालबालिकालाई जुकाको औषधि खुवाइने छ । ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’मा करिब ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन गरिएको छ ।


धेरै पढिएको