काठमाडौँमा दिनहौँ आन्दोलन, सर्वसाधारणलाई सास्ती, गाडी नचल्दा घण्टौँ हिँड्नुपर्ने बाध्यता

नवनारी
७ वैशाख २०८२
175 Views

काठमाडौं । नेपाल शिक्षक महासङ्घ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रदर्शनका कारण काठमाडौं उपत्यकामा सहज ढङ्गले सवारीसाधन सञ्चालन नहुँदा सर्वसाधारणलाई सास्ती भएको छ । विशेषगरी कार्यालय समयमा भएको प्रदर्शनले कार्यालय जानपर्ने कर्मचारीलाई मर्का परेको छ । भने दिउँसो नियमित रुटबाट अन्तै डाइभर्ट हुँदा सर्वसाधारणले घण्टै हिँड्नुपर्ने बाध्यता छ । माइतीघरदेखि नयाँबानेश्वरसम्म प्रदर्शनका कारण ट्राफिक व्यवस्थापन गर्न ट्राफिक प्रहरीलाई कठिन भएको छ ।
नयाँ बानेश्वर हुँदै विभिन्न क्षेत्रमा जाने गाडीहरु नचल्दा नयाँ बानेश्वर देखि रत्नपार्क, अनामनगर, न्यू प्लाजा, पुतलीसडक, बागबजार लगायतका क्षेत्रमा जाने सर्वसाधारणले घण्टौँ हिड्दै जानुपर्ने बाध्यता छ ।

प्रहरीले आवश्यकताअनुसार ‘रुट’ परिवर्तन गरी सवारीसाधनलाई वैकल्पिक मार्गबाट गन्तव्यतर्फ पठाएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता दीपक गिरीले जानकारी दिए । भद्रकाली र तीनकुनेबाट सवारी डाइभर्ट गरिएको छ ।

कार्यालय समयमा सवारीसाधन लामो समयसम्म जाममा पर्दा सर्वसाधारणले सास्ती भोग्नुपरेको थियो । राप्रपाले निषेधित क्षेत्र बिजुलीबजार पुल आसपासमा भेला हुने जनाएपछि माइतीघर, बबरमहल र नयाँबानेश्वर क्षेत्रमा सवारी आवगमनमा रोक लगाइएको छ ।

उक्त क्षेत्रमा तारबार गरेर अवाञ्छित गतिविधि रोक्ने प्रयत्न भएको छ भने धेरै सुरक्षाकर्मी परिचालन गरिएको छ । विगत १९ दिनदेखि देशभरका शिक्षक आन्दोलनमा छन् । उनीहरुको आन्दोलनसँगै आज राप्रपाले पनि विरोध प्रदर्शन गरेपछि सवारी व्यवस्थापन जटिल बनेको हो ।


धेरै पढिएको