शिक्षा मन्त्रीको राजिनामा पछि कसरी अघि बढ्दैछ शिक्षक आन्दोलन ?
काठमाडौँ । चैत्र २० गते देखि काठमाडौँमा जारी शिक्षक आन्दोलन आज पनि जारी छ । आज पनि शिक्षकहरुले बिहान ९ बजे देखि १२ बजे सम्म माईतिघर देखि नयाँ बानेश्वर सम्म प्रदर्शन गरेका छन् । शिक्षक महासंघले माग पुरा नभए सम्म आन्दोलन जारी राख्ने बताएको छ । यसै बिच राष्ट्रिय परीक्षा बोर्डले निजामति कर्मचारी, सम्पूर्ण जिल्लाका परीक्षा समन्वय समिति मार्फत परीक्षा केन्द्र भएका विद्यालयहरूलाई कक्षा १२ काे परीक्षा सञ्चालन गर्न अनुरोध गर्ने निर्णय गरिसकेको छ । सरकारको उक्त निर्णय पछि आन्दोलन झनै चर्कीदै गएको छ । यता शिक्षक महासंघले कक्षा १२ को परीक्षा तथा अन्य कुनै पनि कार्यमा संङलग्न नहुन शिक्षकहरुलाई अनुरोध र अपिल समेत गरेको छ । अहिले देशका कतिपय विद्यालयमा ताला लागेकाे छ ।
आन्दोलन चर्काइरहेका बेला शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले सोमबार पदबाट राजीनामा दिएकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोमबार अपराह्न भेटेर मन्त्री भट्टराईले राजीनामा बुझाएकी हुन् । शिक्षा मन्त्रीकाे राजिनामा पछि शिक्षक आन्दोलनमा झनै अन्यवलता थपेको छ ।
सोमबार साँझ मन्त्रिपरिषद बैठक बस्दै थियो । मन्त्रिपरिषद बैठकअघि प्रधानमन्त्री ओली र शिक्षामन्त्री भट्टराईबीच छलफल पनि भएको थियो । तर मन्त्रिपरिषद बैठक बस्नुअघि नै मन्त्री भट्टराईले राजीनामा दिइन् । मन्त्री भट्टराईका स्वकीय सचिव अशेष पोखरेलले स्वास्थ्यका कारण मन्त्री भट्टराईले राजीनामा दिएको बताए पनि यस सम्बन्धी थुप्रै विश्लेषण हुन थालेको छ ।
कतिपयले शिक्षा मन्त्रीले उच्च नैतिकता देखाएको भन्दै उनको प्रशंसा गरेका छन् भने कतिपयले उनको आफ्नो व्याक्तिगत कारणले राजिनामा दिएको बताइएको छ । शिक्षकहरूले आफूलाई घेराबन्दी गरिरहेका बेला सरकार, अर्थमन्त्री, एमालेबाटै साथ नपाएपछि सोमबार राजीनामा दिएको उनीनिकट स्रोतले जानकारी दिएको छ । ‘शिक्षकहरूले घेराबन्दी गरिरहेका छन्, यस्तो अवस्थामा समस्या समाधान गर्न सहयोग नगर्ने हो भने म राजीनामा दिन्छु भनेर उहाँले प्रधानमन्त्रीलाई भेटेर राजीनामा दिनुभएको हो,’ उनीनिकट स्रोतले भन्यो ।
परिणाम प्राप्त नभए सम्म आन्दोलन निरन्तर जारी रहने शिक्षक महासंघले बताएकाे छ । सहमति कार्यन्वयन गर्ने र शिक्षा ऐन जारी हुने अवस्था नआउञ्जेल आन्दोलन जारी रहने नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताए । ‘पहिलेका सहमतिको कार्यान्वयन र शिक्षा ऐन जारी हुने वातावरण नहुञ्जेल सम्म हाम्रो आन्दोलन जारी रहन्छ,’ उनले भने, ‘अन्तिम निचोडमा नपुगे सम्म हाम्रो आन्दोलन राेकिदैन । हामी हाम्रो मागमा एकदमै अडिक र अझ स्पष्ट भएर लागेका छौँ ।’

प्रतिक्रिया दिनुहोस