जाजरकोट सोती घटनामा २३ जनाको जन्मकैद सदर, जातीय विभेदको सजाय बदर

नवनारी
१६ वैशाख २०८२
162 Views

सुर्खेत । उच्च अदालत सुर्खेतले जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या सम्बन्धी सोती घटनामा २३ जनाको जन्मकैदको सजाय सदर गरेको छ । न्यायाधीश सोमकान्त मैनाली र मातृकाप्रसाद भण्डारीको इजलासले जिल्ला अदालत रूकुम पश्चिमको फैसलालाई सदर गर्दै जातीय छुवाछुतको सजाय भने बदर गरेको हो ।

उपरजिस्ट्रार प्रेमप्रकाश थापाका अनुसार, ‘फैसलामा आंशिक उल्टी भएको हो । पीडितले पाउनुपर्ने क्षतिपूर्ति र जन्मकैद सदर भएकाले जातीय भेदभावमा जिल्ला अदालतले तोकेको दुई वर्ष कैद र ५० हजार जरिवाना बदर भएको हो ।’

जन्मकैदको अवधि २५ वर्ष हुन्छ । १० जेठ २०७७ मा भएको घटनामा सोती गाउँका स्थानीयले भेरी नगरपालिका, जाजरकोटका नवराज विकसहित ६ जनामाथि सामूहिक आक्रमण गरेका थिए ।
हत्या गरिएकामध्ये नवराज विक, गणेश बुढामगर, सञ्जु विक, लोकेन्द्र सुनार, गोविन्द शाही र टीकाराम नेपाली थिए । उनीहरूका शवहरू फरक दिन फरक स्थानमा फेला परेका थिए ।

घटनापछि ३४ जनाविरुद्ध मुद्दा दायर भएको थियो । २०८० मंसिरमा जिल्ला अदालतले २३ जनालाई जन्मकैद, अन्यलाई फरक सजाय सुनाएको थियो ।
जन्मकैद पाउनेमा डम्बरबहादुर मल्ल (तत्कालीन वडाध्यक्ष) सहित सोतीका २२ अन्य व्यक्ति छन् । ठकुरी समुदायका १७ जनालाई जातीय विभेदको थप सजाय सुनाइएको थियो, जुन उच्च अदालतले बदर गर्‍यो ।

नवराजकी प्रेमिका र उनकी आमालाई पनि जातीय विभेद अन्तर्गत दुई वर्ष कैद सुनाइएको थियो, तर उच्च अदालतको फैसलापछि उनीहरूको सजायसमेत बदर भएको छ । फैसलाको पूर्णपाठ भने आउन बाँकी छ ।


धेरै पढिएको