सरकारी सरहकै भत्ता नदिने निजी मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने चेतावनी

नवनारी
१९ वैशाख २०८२
266 Views

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आवासीय चिकित्सकहरूलाई आठौँ तहको भत्ता नदिने निजी मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने चेतावनी दिएका छन् ।

आवासीय चिकित्सक र नेपाल चिकित्संघको टोलीसँग आज मन्त्रालयमा भएको छलफलमा मन्त्री पौडेलले आवासीय चिकित्सकलाई सरकारी सरह निर्वाह भत्ता दिने भनेर चिकित्सा शिक्षा आयोगले गरेको निर्णय नमान्ने हो भने निजी मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने चेतावनी दिएका हुन् ।

स्वास्थ्यमन्त्री पौडेलले भने‚ ‘चिकित्सा शिक्षा आयोगको निर्णयानुसार आठौँ तह बराबरको भत्ता आवासीय चिकित्सकहरूलाई नदिएसम्म मन्त्रालयबाट हुने मेडिकल कलेजहरूको अस्पताल सम्बन्धित सबै काम रोकिएको छ र रोक्छु।’

सरकारले निजी मेडिकल कलेजहरूलाई आवासीय चिकित्सकसरह भत्ता दिन निर्देशन दिए पनि कार्यान्वयन नभएपछि आवासीय चिकित्सकहरू आन्दोलनमा छन् । आवासीय चिकित्सकको समान सुविधा (मासिक ४८ हजार ७ सय रुपैयाँ) कायम गर्ने निर्णय गर्दै उक्त निर्णय कार्यान्वयन गर्न निर्देशन दिइएको थियो तर निजी मेडिकल कलेजहरूले उक्त निर्णय कार्यान्वयन नगरेको भन्दै आवासीय चिकित्सक आन्दोलित भएका हुन् ।

मन्त्री पौडेलले चिकित्सा शिक्षा आयोगले दिएको निर्देशन कार्यान्वयन नगरेसम्म निजी मेडिकल कलेजहरूलाई सरकारले दिने कुनै पनि सुविधा उपलब्ध नगराउने घोषणा गरेका छन् । मन्त्री पौडेलले आन्दोलन फिर्ता लिएर मुलुकको उपचारात्मक प्रणालीमा सहयोग गर्न चिकित्सकहरूलाई आग्रह गरेका छन् ।


धेरै पढिएको