सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत, छलफल २२ गतेबाट हुने

नवनारी
१९ वैशाख २०८२
242 Views

काठमाडौँ । संघीय सरकारको नीति तथा कार्यक्रम संसद्को संयुक्त सदनमा प्रस्तुत गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरे संगै नीति तथा कार्यक्रम माथिको छलफल प्रतिनिधिसभामा ६ दिन हुने भएको छ ।

सभामुख देवराज घिमिरेले शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा वैशाख २२, २३, २४, २५, २६ छलफल हुने र २८ सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने कार्यसूची तय गरेको जानकारी दिएका हुन् ।

छलफलमा भाग लिने सांसदहरूको नाम सम्बन्धित दलका पदाधिकारीले संसद् बैठक प्रारम्भ हुनुभन्दा एक घण्टा अगावै कार्य व्यवस्था शाखा प्रतिनिधिसभा सङ्घीय संसद् सचिवालय नयाँ बानेश्वरमा उपलब्ध गराउनुपर्ने घिमिरेले बताए ।

त्यस्तै नीति तथा कार्यक्रममाथि दुई दिन संशोधन पेस गर्ने समय पनि सभामुख घिमिरेले तोकेका छन् । घिमिरेले वैशाख २० र २१ गते बिहान ११ बजेदेखि दिनको ३ बजेभित्र कार्य व्यवस्था शाखामा संशोधनको प्रस्ताव दिन सकिने समय तोकेको जानकारी सदनमा दिए। उनले संशोधनको सूचना फाराम त्यही शाखामा नै पाइने जानकारी दिए । प्रतिनिधिसभाको अर्को बैठक सोमबार बिहान ११ बजे बस्नेछ ।


धेरै पढिएको