किट विश्वविद्यालयमा नेपाली विद्यार्थी पठाउन बन्द गर्न सांसदहरुको सुझाव

नवनारी
२१ वैशाख २०८२
202 Views

काठमाडौँ । सांसदहरूले भारतको ओडिसास्थित कलिंङ्गा इन्टिचियुट अफ इन्डस्टियल टेक्नोजी (केआईआईटी) विश्वविद्यालयमा नेपाली विद्यार्थी पठाउन बन्द गर्नुपर्ने सुझाएका छन् । साथै उनीहरु त्यहाँ जान चाहने विद्यार्थीलाई ‘नो अब्जेक्सन लेटर (एनओसी)’दिन नहुनेमा जोड दिएका हुन् ।

आइतबार राष्ट्रिय सभाको बैठक सुरु भए लगत्तै सांसदहरूले केआईआईटी विश्वविद्यालयमा अध्ययनरत वीरगञ्जकी प्रिसा साह मृत भेटिएको विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् । राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले किट विश्वविद्यालयमा नेपाल सरकारले एनओसी दिन बन्द गर्नुपर्ने माग गरे । ‘केआइआइटी विश्वविद्यालयमा एनओसी बन्द गरियोस्’, उनले भने । नेकपा एकीकृत समाजवादीकी सांसद मदन कुमारी साह केआईआईटी विश्वविद्यालयमा कुनै न कुनै समस्या रहेको बताउँछिन् । सरकारले उक्त विश्वविद्यालयमा एनओसी दिने विषयमा समेत ख्याल गर्नुपर्ने उनको आग्रह छ ।

‘जुन देशमा, जुन विश्वविद्यालयमा, जुन शिक्षण संस्थामा नेपाली विद्यार्थीहरू सुरक्षित छैनन् । सुरक्षाको अनुभुति छैन, प्रत्याभूति छैन त्यस्तो ठाउँमा विद्यार्थी पठाउनु हुन्न । एनओसी दिनुहुन्न भन्ने माग राख्न चाहन्छु’, उनले भनिन् । अन्याय नेपाल सधैं सहन तयार नरहेको भन्दै उनले एनओसीको विषयमा सरकारले ध्यान दिनुपर्ने उनले बताए । केआईआईटी विश्वविद्यालयमा विद्यार्थी नपठाउन अभिभावकलाई समेत उनको आग्रह छ ।

‘किट विश्वविद्यालयमा आफ्ना छोराछोरी नपढाउनको लागि म यही सभामार्फत नेपाली अभिभावक सबैलाई अनुरोध गर्न चाहन्छु, आह्वान गर्न चाहन्छु’, उनले भनिन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सांसद शेखर कुमार सिंहले पनि केआईआईटी विश्वविद्यालयमा उस्तै घटना चार महिनामै दोहोरिएको भनेर सरकारको ध्यानाकर्षण गरे ।

नेपाल सरकारले समयमै सजग भएर आवश्यक नीति अवलम्बन गर्नुपर्ने उनको आग्रह छ । आइन्दा फेरि अर्को घटना हुन नदिनका लागि लाग्नुपर्ने उनको आग्रह छ । यसअघि सोही विश्वविद्यालयमा अध्ययनरत प्रकृति लम्साल पनि मृत फेला परेकी थिइन । फेरि साह मृत फेला परेपछि सांसदहरूले उक्त विश्वविद्यालयमा पढ्नका लागि अनुमति नै नदिन सरकारलाई आग्रह गरेका हुन् ।


धेरै पढिएको